बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली नष्ट

डिसी नेपाल
४ कार्तिक २०७८ १७:३३

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ। कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादवका अनुसार कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात २५ प्रतिशत नष्ट भएको हो ।

धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताए । उनले भने, ‘सप्तरीमा लगाएक‍ो केराबाली मध्ये ५० प्रतिशत र २० प्रतिशत तरकारी खेतीमा पनि क्षति पुगेको छ ।’ क्षतिले किसानहरूको दैनिकी थप कष्टकर भएको प्रमुख यादवको भनाइ छ।

विष्णुपुर गाउँपालिकाका ४० वर्षीय बद्री सदाले भने, ‘अर्काको दुई बिगा जग्गामा धान लगाएको थिए । बाढीले सबै कुहियो, वर्ष दिनसम्म के खानु ? जग्गाधनीको कुत कसरी तिर्नु ?’

तिलाठीबाट रामपुर मल्हनियातर्फ जाने क्रममा हनुमानगर कंकालनी नगरपालिका–९ का शम्भु मण्डलको २२ वर्षीय छोरा छोरा लालु मण्डल जिता खोला तर्ने क्रममा बेपता भएका छन् । उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद यादवले जानकारी दिए। बस्तीमा पानी पसेपछि बिष्णुपुर गाउँपालिका–३ को जैवा मण्डल, पृथ्वीनारायण मण्डल, रामलित मण्डल, राजदेव मण्डलको घर भत्किएको छ।

त्यसैगरी, सप्तकोशी नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाई वस्तुहरू चराइ फर्किने क्रममा पौडा खोला तर्ने क्रममा आठ वटा बाछाबाछी र गाई बाढीले बगाएको छ। कन्चनरुप नगरपालिका–५ पुर्वी पिपराका चतुरदेव तामाङको एउटा बाछा र रमानन्द चौधरीको एउटा गाई बगेको छ।

यस्तै, तिलाठीकोईलाडी गाउँपालिका–५ सारदा टोलका सनिचर सरदार, महेन्द्र सरदारको घर भत्किएको छ । गुडु सिंहको कृषि फर्ममा पानी पसेपछि फार्मभित्र रहेको ६ सय कुखुरा नष्ट भएको छ।

सप्तरीकोसी नगरपालिका तिलाठी कोईलाडी, हनुमाननगर, राजविराज, खड्क शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका गरि एक दर्जन गाउँपालिका र नगरपालिकाको बस्तीमा पानी पसेपछि दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *