प्रत्यक्षदर्शीले लिखित बयानमा भने ‘करोडौं असुल्नका लागि आर्यन खानलाई एनसीबीले फसायो’

डिसी नेपाल
७ कार्तिक २०७८ १३:५१

काठमाडौं। ड्रग्स केसमा फसेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले नै फसाएको एक प्रत्यक्षदर्शीले खुलासा गरेका छन् । यो केसमा एनसीबीले ‘सरकारी गवाह’ बनाएका प्रभाकर सेलले शाहरुख खानका छोरा आर्यन खान एक असुली काण्डका पीडित भएको बताएका छन् । उनले एक लिखित एफिडेविटमा यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।

प्रभाकर सेल किरण गोसावीका निजी बडीगार्ड हुन् । किरण गोसावी उनै व्यक्ति हुन् जसले आर्यन खानसँग खिचेको सेल्फी आर्यन पक्राउ परेसँगै भाइरल भएको थियो । किरण गोसावी त्यतिबेलादेखि नै फरार छन् । किरण गोसावीलाई पनि एनसीबीले यो केसमा गवाह बनाएको छ र उनी आर्यनको गिरफ्तारीको समयमा त्यहाँ उपस्थित थिए ।

प्रधाकर सेलले लिखित एफिडेविटमा बताएअनुसार आर्यनलाई पक्राउ गरिएको लगत्तै करोडौं लेनदेनको बार्गेनिङ भएको थियो । उनका अनुसार पहिले २५ करोडको लेनदेनको कुरा भएको थियो र पछि १८ करोडमा कुरा मिलेको थियो । यो १८ करोडमध्ये ८ करोड एनसीबीका क्षेत्रीय अधिकारी समीर वानखेडेलाई दिने तय भएको थियो ।

यो खुलासापछि भारतीय मिडियासँग कुरा गर्दै एनसीबी अधिकारी समीर वानखेडेले यसको छिटै जवाफ दिने बताएका छन् । प्रभाकरले दावी गरेअनुसार उनले क्रुजमा छापामारीपछि शाहरुख खानकी म्यानेजर पुजा डडलानीसँग किरण गोसावी र साम भनिने अर्का व्यक्तिले नीलो मर्सिडिज कारमा १५ मिनेटसम्म कुरा गरेको देखेका थिए । उनका अनुसार एनसीबीले उनलाई १० सादा कागजमा हस्ताक्षर समेत गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *