अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

डिसी नेपाल
८ कार्तिक २०७८ १०:०७

काठमाडौं । कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज खोप नेपाल पुगेको हो।

कतार एअरवेजको विमानमार्फत काठमाडौं पुगेको फाइजर खोप कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हो।

नेपाल आएको खोप दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने सरकारको तयारी छ। त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने छ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ।

फाइजर नेपालमा पहिलो पटक आएको खोप हो। यसअघि भारतमा उत्पादन भएको कोभिसिल्ड नेपालमा खोप अभियानको सुरुवातिमै आएको थियो। त्यसपछि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *