पाँचखालमा सेनापतिको खोजी, किन गएनन् सेनापति शर्मा ?

डिसी नेपाल
११ कार्तिक २०७८ ११:०५

काठमाडौं। संयुक्त राष्ट्रसंघ दिवसका दिन कात्तिक ७ गते काभ्रेको पाँचखालमा भएको सेनाको भव्य समारोहमा प्रधानसेनापति प्रभुराम  शर्मा उपस्थित हुन सकेनन्। रक्षामन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथि रहेको राष्ट्रसंघीय शान्ति मिसनका लागि सैनिक तालिम केन्द्र पाँचखालको कार्यक्रममा प्रधानसेनापतिको साटो रथी बालकृष्ण कार्कीले भाग लिएका थिए।

विदेशी कुटनीतिक निकायका थुप्रै प्रतिनिधिहरु समेत सहभागी भएको कार्यक्रममा रथी कार्कीले भाइस चिफ अफ आर्मी स्टापको हैसियतले आफ्नो सम्वोधन भाषण गरेका थिए। कार्यक्रममा नेपालका सबै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता पनि थियो।(हेर्नुहोस् तस्वीर)।

सो कार्यक्रमकै सन्दर्भमा सेनापति शर्माको अनुपस्थितिबारे सहभागीमध्येका एक उच्च पदस्थले नै चासो राखेपछि उनको स्वास्थ्य समस्याका कारण सो कार्यक्रममा अनुपस्थित हुनु परेको अनौपचारिक जानकारी दिइएको थियो।

प्रधानसेनापति शर्माको पेटमा समस्या आई त्यसबेला उपचाररत रहेको र सोही अस्वस्थताका कारण पाँचखालको यो कार्यक्रममा सरिक हुन नसकेको जानकारी रक्षा मन्त्रालयलाई पनि अनौपचारिकरुपमा आएको मन्त्रालयको एक उच्च सुत्रले बतायो।

‘उहाँको स्वास्थ्यमा त्यसबेला समस्या देखिएको जानकारी आएको छ’, रक्षा मन्त्रालयका एक अधिकृतले डिसी नेपालसँग भने, ‘बाँकी कुरा नेपाली सेनासँगै सोध्नुहोला।’ स्रोतका अनुसार, सेनापति शर्माको पेटमा देखिएको समस्यामा उपचार गराउनु परेकाले महत्वपूर्ण सैनिक कार्यक्रमहरुमा उनको उपस्थिति कम देखिएको छ। त्यसपछिका मन्त्रालयका र अन्य बैठकहरुमा भने उनी सहभागी भएका छन्।

त्यसो त गत महिना दशैंको सप्तमी बढाईंको दिन पनि प्रधानसेनापति शर्माको उपस्थिति टुँडिखेलमा देखिएको थिएन। पछि नेपाली सेनाका प्रबक्ताले सेनापति शर्मालाई ज्वरो आएको तर कोभिड भने नभएको सूचना सञ्चारमाध्यमहरुलाई त्यतिबेला दिएका थिए।

सेनापति शर्मा विगत केही महिनादेखि नै घाममा उभ्भिनु पर्ने वा धेरैसमय उभ्भिनु पर्ने खालका कार्यक्रमहरु महत्वपूर्ण नै भए पनि सहभागी भएका छैनन्।

गणतन्त्र दिवसको दिन पनि उनी राष्ट्रपतिलाई दिइएको सलामीमा उभिएका थिएनन् तर पछि मन्चमा बस्ने बेलामा भने देखिएका थिए। यी विविध घटनाहरुमा उनको अनुपस्थितिले सेनापतिको स्वास्थ्यबारे सर्वसाधारणहरुमा चासो बढाएको छ तर शर्माको स्वास्थ्य अवस्थाबारे नेपाली सेनाले सार्वजानिकरुपमा केही बताएको छैन।

समाचारअनुसार, हाल केही समय उपचार गरी सेनापति शर्मा भारतको भ्रमणमा जाने आन्तरिक तयारी सेनाले गरेको छ। नेपाल र भारतका सेनापतिहरु एकअर्को देशको मानार्थ सेनापति हुने र त्यसका लागि विशेष समारोह नै आयोजना गरिने सैनिक परम्परा रहँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *