जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्यधिक

डिसी नेपाल
१८ कार्तिक २०७८ १३:५६

जनकपुरधाम। जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ। दीपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो।

तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचाे लागेको छ। केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन्।

व्यापारीहरूले आफ्नाे पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताए । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उनले बताए ।

बिहीबार मात्रै जनकपुर बजारमा करिब चार-पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करिब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *