लय समाउँदै कर्णालीको पर्यटन

डिसी नेपाल
२० कार्तिक २०७८ १३:०६

दैलेख ।कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन । निकै महत्वाकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निरास बनेका थिए । साथै सरकारले बनाएको योजना फेल हुँदा दुईसम्म कर्णाली सुनसान बनेको थियो । अभियनले सन् २०२० भित्र प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको छ । केही महिना पहिले सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार पनि कर्णालीमा पर्यटक आगमन ९४ दशमलव ४६ प्रतिशतले घटेको उल्लेख थियो ।

पर्यटकीय चहलपहल घटेसँगै प्रदेशमा स्तरीय होटल तथा लज पनि पलायन हुन थालेका थिए । सिंगो व्यवसाय नै ६ दशमलव ४३ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ । अधिकांश समय लकडाउन हुँदा पर्यटकको आगमनमा कमी आएको हो ।यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण थप थला परे । सबैभन्दा बढी मारमा होेटल व्यवसायी परे । तर केही समययता यस क्षेत्रका पर्यटकीय स्थलमा चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन् ।

कर्णालीमा कोरोना संक्रमण १० प्रतिशतभन्दा कम
कर्णाली प्रदेशमा अहिले कोरोना संक्रमणदर १० प्रतिशतभन्दा तल झरेको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा अहिले दैनिक २५ जना भन्दा कम मात्रै सक्रिय संक्रमित छन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले संक्रमणको जोखिम भने कायमै रहेको बताए । कोरोनाविरुद्धको खोप अभियानले नागरिकमा त्रास हटाउँदै लगेपछि सबै क्षेत्र सहज बन्दै गएका छन् । सुर्खेतमा हालसम्म खोपको लक्षित समूहमध्ये ५१ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन् ।

पर्यटन व्यवसायी चिन्तामणि शर्मा पनि सहज वातावरण बनेसँगै पर्यटकीय गतिविधि बढ्न थालेको बताउँछन् । बाह्य पर्यटक कमै भए पनि आन्तरिक पर्यटक घुमफिरमा निस्कन थालेको उनको अनुभव छ । होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका शर्मा भन्छन्, ‘तुलनात्मक रूपमा पहिलेभन्दा चहलपहल बढेको छ । पर्यटन र होटल व्यवसाय विस्तारै लयमा फर्कदै छन् ।’ होटेलमा बस्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको उनले जनाए । ‘कोरोना त्रास कम हुँदै जाँदा संघ–संस्थाहरूले होटलमा कार्यक्रम गर्न थालेका छन् । पहिलेभन्दा २० प्रतिशतले कारोबार बढेको छ,’ उनले भने ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *