पाटनमा कात्तिक नाच अन्तर्गत दोस्रो दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

डिसी नेपाल
२६ कार्तिक २०७८ १३:३०

काठमाडौं।ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो ।

१२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताए । चित्रकारका अनुसार झण्डै ३८० वर्षभन्दाअघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ सालसम्म २७ दिन मञ्चन हुन्थ्यो । कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउँछन् ।

कलाकारहरूलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउँछन् । २७ दिनसम्म नाच चलाउन कलाकार १५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उनको भनाइ छ ।२००७ सालदेखि २०३७ सालसम्म दुई दिन चलाइएको थियो । २०३८ सालबाट २०७१ सालसम्म आठ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दूरी कायम गरेर दुई दिन मात्र चलाइएको थियो । यो वर्ष भने २४ कात्तिक बुधबारदेखि १ मंसिरसम्म चल्नेछ ।

बुधबार र बिहीबार सुदामा प्याख र बाथः प्याखँ सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएका थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । तीमध्ये शितज्वररविष्मज्वर युद्ध, महादेवरकृष्ण युद्ध, भैरव,भैरव कुमारी महालक्ष्मी नृत्य,मधुकैटव बध,हिरण्याक्ष वध,नृसिंह अवतार नृत्यलगायत छन् ।३८० वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किंवदन्ती छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *