पहिलो पटक गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली लागू
काठमाडौं । गण्डकी प्रदेशमा पहिलो पटक कर्मचारी सूचना प्रणाली लागू गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका अनुसार कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको हो ।
गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उनले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिए ।
प्रदेश प्रमुख सचिव डा.दामोदर रेग्मीका अनुसार प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको हो । उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको उनको भनाइ छ ।
‘गण्डकी प्रदेशमा करिब तीन हजार कर्मचारीको दरबन्दीमध्ये दुई हजार मात्र पूर्ति भएको छ’, रेग्मीले भने, ‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ ।’
मुलुकका सात प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलोपटक लागू भएको हो ।
Facebook Comment