कोइराला परिवारभित्रको समझदारीको बास्तविकता

विजयप्रसाद मिश्र
१ मंसिर २०७८ २०:१४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पार्टी सभापतिमा दाबी गरिरहेका कोइराला परिवारकै तीनजनामध्ये एकलाई समर्थन गरेर अघि बढ्ने सहमति भएको चर्चा मंगलबार राती केही ‘भीआईपी’बीचमा चलेको थियो । बुधवार बिहानदेखि कोइराला परिवारको शुभचिन्तक र विरोधी समुह दुबैमा सलहजस्तै फैलियो । जसका कारण सहमतिको नजिक नजिक पुगिसकेको निर्णय केही दिनका लागि पछि सरेको छ । यसको भित्री रहस्य के हो ? र अब के हुँदैछ भन्ने बुझ्ने चाहना धेरैलाई छ ।

कोइराला परिवारका पुराना नेतामध्ये गिरिजाप्रसाद कोइरालाले जे नयाँ निर्णय गर्थे त्यो बिराटनगरमा गएर नै हुन्थ्यो । बिराटनगरका पत्रकारहरुसँग कुरा गर्न उनलाई सहज हुने गरेको थियो । आफ्नो अग्रजको बाटो पछ्याउँदै डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले बिराटनगरकै कोइराला निवासमा बसेर यो निर्णयलाई सार्वजनिक गर्नुपर्ने थियो । तर, त्यो नभएर काठमाडौंमै हुन खोजेकोले परिवन्दले पछाडी सरेको हो भन्नेहरु बिराटनगरमा प्रशस्त छन् ।

अब कोइराला परिवारका तीनजना सभापतिका आकांक्षीहरुको समहति सार्वजनिक गर्ने स्थल पुरानै बीपी निवासलाई बनाउनु पर्दछ भन्ने कोइराला परिवारका शुभचिन्तकहरुले भन्न थालेका छन् । डा. शेखर कोइराला बुधवार नै बिराटनगर तर्फ लागिसकेका छन् । यसको संकेत देखिएको पनि छ ।

मंगलवार साँझ डा. शेखर कोइरालाको काठमाडौं स्थित निवासमा भएको दुई भाइको छलफलमा शशांक कोइरालाले शेखर कोइरालालाई सहयोग गर्ने बाचा गरेका थिए । यसबारेमा सुजाता कोइरालासँग त्यसबखत नसोधिएको भएपनि पछि सोधिएको स्थिति छ ।

 

कोइराला परिवारमा सहमति हुने हो वा नहुने हो भन्नेबीच विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । पछिल्लो समय मंगलवार साँझ डा. शेखर कोइरालाको काठमाडौं स्थित निवासमा भएको दुई भाइको छलफलमा शशांक कोइरालाले शेखर कोइरालालाई सहयोग गर्ने बाचा गरेका थिए । यसबारेमा सुजाता कोइरालासँग त्यसबखत नसोधिएको भएपनि पछि सोधिएको स्थिति छ । विहान १० बजेपछि पत्रकार सम्मेलन गर्ने भनेर डा. शेखर कोइराला शशांक कोइरालाको घरमा विहान ९ बजे नै पुगेर चाँजोपाँजो मिलाउन खोजेका थिए ।

तर डा. शशांक कोइरालालाई कतैबाट फोन आयो जुन फोनका कारण कुनै बहाना गरेर तीनचार दिन पछि पत्रकार सम्मेलन गर्ने अहिले ‘क्यान्सल’ गरिदिनु भन्दै बाहिरिए । धन्न पहिले नै डा. शेखर कोइराला केही छिन् पछि आउँछु भनेर बाहिरिएका थिए । जसले डा. शशांकलाई बाहिरिनु वा केही दिनको लागि टार्न सहज भएको थियो ।

पत्रकार सम्मेलनलाई टार्नकै लागि डा. शशांक कोइराला शंखुवासभा तर्फ हेलिकेप्टरबाट गएको भन्ने चर्चा पनि चल्यो । तर, डा. शशांक कोइरालाले सोमबार सर्लाहीमा बोलेको कुराले अब कोइराला परिवार मिल्न लागेभन्ने संकेत गरिसकेको थियो ।

सर्लाहीमा डा. शशांक कोइरालाले रामचन्द्रजी त एकपटक लडिसक्नुभएको छ त्यसैले उहाँलाई अब नदिने आशय व्यक्त गरे । त्यस्तै कृष्ण सिटौलालाई पनि कोइराला खेमा भित्रै ल्याउनु पर्दछ एउटै उम्मेदवार बनाएर शेरबहादुर देउवालाई हराउनु पर्दछ भनेका थिए । उनले अझ महत्वपूर्ण कुरा के गरे भने आफूलाई शेखरदाले संझाई हाल्नु हुन्छ । यसको आशय उनी शेखर कोइरालालाई सभापतिमा छोड्न तयार भएका छन् । उनले शेखरलाई बलियो उम्मेदवार बनाउन कम बोल्ने स्वभावका भएपनि प्रकाशमान सिंहको बारेमा तितो कुरा बोलेर शेखर भन्दा कमजोर उम्मेदवार प्रकाशमान सिंह भन्न छोडेनन् ।

कोइरालाले भने, ‘प्रकाशमान सिंहजीलाई भन्दा नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ ।’ यसको अर्थ प्रकाशमानलाई काठमाडौं बाहिरका कांग्रेसले त्यत्ति चिन्दैनन् । यसले प्रकाशमान प्रतिको बुझाइ कोइराला परिवारमा के रहेछ भन्ने पनि बाहिर आएको छ ।

डा. शशांकले आफूले त शेखरदालाई छोडुला रे, तर अरुलाई मिलाउने काम त उहाँको हो नि भनेका छन् । अर्थात अरुलाई मिलाउनु भयो भने म छोड्न तयार छु भन्ने सन्देश डा. शशांक कोइरालाले दिएका छन् । यसमा डा। शेखर कोइरालाले तत्काल सक्रियता देखाएर सुजाता कोइरालालाई मनाउने, डा. शशांक कोइरालालाई संखुवासभामा नै भेटेर सँगै बिराटनगर लिएर आउने र सुजाता कोइरालालाई पनि विराटनगरमा बोलाएर देशभर तरंग आउने गरी एकताको सन्देश दिने काम गर्नु पर्दछ ।

हो, शशांक स्थिर नभएको बुधवारको घट्नाले देखाएको छ । यसमा सुजाताले नै भाँजो हालेको देखिन्छ । सुजाता कोइरालालाई राती नभनेर पत्रकार सम्मेलन गर्ने बेलामा मात्र जानकारी गराइएको भन्ने आक्रोश होला । तर बास्तविकता त के हो भने डा. शशांक कोइरालाले मंगलवार राती नै सुजातालाई फोन गरेर भन्दा सुजाता क्रुद्ध भएकी हुन् । त्यसैले डा. शेखर कोइरालाले एक्कासी हाम्रो सहमति भयो, पत्रकार सम्मेलनमा आउनु भनेपछि झनै क्रुद्ध भइन । डा. शेखर कोइरालाले शशांक कोइरालाकै घरबाट सुजातालाई फोन गरेकोले तत्काल सुजाताले फेरी शशांकलाई फोन गरेर झपाडेपछि शशांक अत्तालिएर उपत्यका बाहिर गएको हुन सक्दछ ।

यसमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत कोइराला परिवार एक भएमा आफू हार्नसक्ने अनुमान गरेर उनीहरुबीचको एकतालाई खल्बलाउन अग्रसर भएको हुन सक्दछ । तर कोइराला परिवारका तीनै जना बिराटनगरको बीपी निवासमा बसेर छलफल गरेमा अब उनीहरुबीच हुने सहमतिलाई कसैले रोक्न सक्ने छैन ।

कोइराला परिवार बीच सहमति हुनसक्ने धेरै आधारहरुमा पहिलो आधार भनेकै एक नभए सबै कोइराला हार्न सकिन्छ । कांग्रेस रसातलमा जान्छ भन्ने चिन्ता उनीहरुमा छ । तर दोस्रो भनेको डा. शशांक कोइरालाले आफूले संगठन गर्न नसकेको पहिले पनि केन्द्रीय सदस्यमा मात्र उठने भन्दा भन्दै महामन्त्रीमा उठाएका भन्ने कुराहरु परिवार भित्र गर्नुले उनी यस पटक अध्यक्षमा डा. शेखर कोइरालालाई छोड्न तयार भएकै हुन् ।

त्यसैले उनले सर्लाहीमा भने, ‘शेखरदा पनि लागिरहनुभएको छ । उहाँ र हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावनालाई कदर गर्छु, सम्मान गर्छु,’ उनले थपे, ‘काठमाडौं जानेबित्तिकै कुरा गर्छु, शेखरदालाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले ।’ यो भनाईले प्रष्ट गर्दछ उनी शेखर कोइरालालाई यसपटक सभापतिमा अगाडी बढाउन चाहन्छन् । सर्लाहीमा भने अनुसार नै उनी शेखर कोइरालालाई आफै फोन गरेर मंगलवार राती भेट्न समेत गए ।

नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुने भएकोले कोइराला परिवार एक भएको सन्देश दिन ढिलो गर्नु हुँदैन । कोइराला परिवार यसरी मिल्न खोज्नुमा भारतले जसरीपनि शेरबहादुर देउवालाई हराउने रणनीति लिएको छ । तर नेपाली कांग्रेसका मतदाताहरुले भारतको रणनीतिलाई आत्मसाथ गर्ने हुन कि आफ्नै विवेक प्रयोग गर्ने हुन् ? यसबारेमा विस्तारै कुनै जनमत बन्ला नै ।

नेपाली कांग्रेसको स्थापनाकालदेखि नै कोइराला परिवारको विरासत जस्तै भएकोले अब एकजुट नभई फेरी राजनीतिलाई डडेलधुराबाट बिराटनगर सार्न सकिदैन भन्ने कोइराला परिवारले बुझेको छ । देउवा खेमा कै भनेर चिनिएका बिमलेन्द्र नीधि पनि सभापतिको आकांक्षी भएकाले यसपटको संस्थापन इतरलाई कोइराला परिवारले मिलाएर एउटै उम्मेदवार बन्न सके पहिलो चरणमै जीत हात पार्ने रणनीतिका साथ कोइराला परिवार अघि बढेको छ ।

कोइराला परिवारले आवश्यकता परेको बेलामा कृष्णप्रसाद भट्टराईलाई सभापति बनाएका थिए । गिरिजाप्रसाद कोइरालाले पटक पटक सभापति भएर शुशिल कोइरालालाई उत्तराधिकारी बनाएर गए । त्यसपछिको दोस्रो पुस्तामा कोइराला परिवारको कसले नेतृत् वगर्ने भन्नेमा नै अन्यौलता बढ्यो ।

गिरिजाप्रसाद कोइरालाले सुजातालाई सुनसरी, डा. शेखरलाई मोरङ्को राजनीतिमा अघि बढाएर शशांकलाई पश्चिम तर्फ सुरक्षित रहन पठाएको देखिन्छ ।

अहिले तीनै जना सभापतिको दावेदार भएपनि सुजाता कोइराला विरामी परेकोले सक्रिय राजनीतिमा नआउने र एकपटक फेरी मन्त्रीबन्ने चाहना गरेकी थिइन् । उनलाई मन्त्री बनाउन शशांकले सहयोग नगरेको भन्ने आरोप लगाएर शुरुमा शशांकको खुबै विरोध गरिन । पछि आफै सभापतिमा उठ्ने भनेर बिराटनगरमा घोषणा नै गरिन ।

हुनत डा. शशांकले शंखुवासभामा गएर बुधवार फेरी आफू सभापतिको उम्मेदवारबाटै पछि नहटेको भने । तर यो कसैको दवावमा भनेको देखिएको छ । बिराटनगर पुगेभने पुरानो कोइराला परिवारको गौरब सम्झेर पनि शशांकले शेखर कोइरालाको लागि छोड्नेछन् । तर यसका लागि उनले शेखरले अन्य साथीहरुलाई पनि त मिलाउनु पर्दछ नि भन्ने सर्त भने अघि सारिरहने छन् ।

शशांकलाई भारतले दिएको सुझाव के छ ? त्यसमा पनि उनले शेखर कोइरालालाई छोड्ने नछोड्ने भन्ने एक्कीन हुन्छ । आफै शेखर कोइरालालाई फोन गरेर उनको घरमा गई यसपटकलाई म शेखरदालाई छोड्छु तर उहाँले अरुको समर्थन खोज्नु पर्दछ भन्नुलाई रहस्यको रुपमा पनि हेरिनु पर्दछ । कतै शेखरलाई अघि सारेपछि सुजाताले नमानेको देखाएर वा कोइराला परिवार बाहिरका आकांक्षीले नमानेरको देखाएर मैले उठ्नै पर्ने भयो भन्ने त होइनन् ? यसतर्फ डा. शेखर सचेत रहनु पर्दछ । त्यसैले सहमति ढीलै भएपनि ठोस हुनुपर्दछ । जसका लागि बिराटनगर नै सही स्थान हो ।

गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापनाको मागलाई मान्न बाध्य भएका पूर्वराजा ज्ञानेन्द्रले संसद पुर्नस्थापना त गरिदिए तर त्यसले कांग्रेसको तर्फबाट थपिने १० जना सांसदहरुमा शेखरको नाम सुजाताले काटिदिंदा भएको परिवारिक विवादको घाउ सुकिसकेको छ । यसलाई कोट्याउनु हुँदैन । सुजाताले यो घाऊ कोट्यान चाहेको हो की भन्ने छनक उनकै कारणले बुधवार काठमाडौंमा गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको हो भन्दा फरक पर्दैन ।

तर, जे भयो ठीकै भयो । अब बिराटनगरमा पत्रकार सम्मेलन गरेर कोइराला परिवारको एकताको सन्देश दिन सकेमा यसले नयाँ उर्जा प्राप्त गर्दछ । शेखर कोइरालाले पाँचबर्ष अघिदेखि सभापतिको लागि दौडाहा गरिरहेकाले उनीप्रति कोइराला परिवारले अन्याय गर्नु हुन्न । गर्दैनन् पनि होला ।

कोइराला परिवारको एकता भएर मात्र जीत्न सकिन्छ भन्ने चाँही छैन । सुजातालाई जाबो मन्त्री बनाउन नसक्ने कोइराला परिवारको शक्ति अहिले कति छ भनेर आम मतदाताले अनुमान लगाइसकेका छन् ।

कोइराला परिवारको एकता भएर मात्र जीत्न सकिन्छ भन्ने चाँही छैन । सुजातालाई जाबो मन्त्री बनाउन नसक्ने कोइराला परिवारको शक्ति अहिले कति छ भनेर आम मतदाताले अनुमान लगाइसकेका छन् । त्यसैले जसरी कांग्रेसभित्र कोइराला परिवारको लिगेसीलाई आत्मसाथ गर्ने पुराना कांग्रेसको संख्या बढी भएपनि नयाँ पुस्ता या यूवाहरु भने कोइराला परिवारलाई मरिमेट्ने भन्दा पनि डा। शेखर कोइरालाको मिहिनेतबाट आकर्षित भएका छन् । यसलाई संस्थापन पक्षले पनि मूल्यांकन गर्नै पर्दछ ।

यी सबै हुँदा हुँदै पनि राजनीति हो । आफ्नो पार्टी भित्र मात्र होइन, देशभित्रका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्ने र विदेशमा समेत संझन लायक हुनका लागि नेपाली कांग्रेसको सभापतिमा त तीनबटा मूख्य विशेषताहरु हुनै पर्दछ । त्यो भनेको विद्यार्थीकालदेखि नै राजनीति गरेर आएको, आफ्नो क्षेत्रमा जहिलेपनि विजयी हुने हैसियत भएको र सैद्धान्तिक बहस गुणस्तरीय रुपमा गर्नसक्ने । कोइराला परिवारभित्रका तीन आकांक्षी भित्र यी तीन मध्ये जसको बढी छ उसले नै अवसर पाउनु पर्दछ । कोइरालाका शुभचिन्तकहरुले यसतर्फ पनि विचार गर्न आवश्यक छ । यो भन्दा पनि महत्पूर्ण एक भएर मात्र पुग्दैन । कुन सोचका साथ कोइराला परिवार एक हुन खोजेको त्यसको दस्तावेज आम नेपालीको मनमा आशा जगाउने खालको हुनुपर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *