रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

डिसी नेपाल
४ मंसिर २०७८ १४:०४

रोल्पा । सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल खेल मैदानको रुपमा परिणत भएको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । २०४६ सालसम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो । २०४८ सालपछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताए । विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आएका थापाका अनुसार आफूहरुलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमानस्थलभर बङ्कर खनेका थिए ।

रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । स्थानीयवासी योगेन्द्र जिसीका अनुसार विमानस्थल सञ्चालनका लागि पटकपटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् ।

पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उनको गुनासो छ ।

रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । स्थानीयवासी मिलन रोकाले विमानस्थल गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने बताए ।

पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ । वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन् । रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ ।

हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् । अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *