निधि र प्रकाशमानले एक अर्कालाई नछोड्ने

डिसी नेपाल
१० मंसिर २०७८ १०:२४

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि क्षेत्रीय र जिल्ला अधिवेशनका परिणामहरु आइरहँदा सभापतिको उम्मेदवारका लागि पनि रस्साकस्सी सुरु भएको छ । अहिलेलाई कसका कति प्रतिनिधि आए भन्ने लेखाजोखा भइरहँदा सभापतिको गठबन्धनका लागि पनि प्रयासहरु जारी नै छन् । यसै क्रममा उपसभापति विमलेन्द्र निधि र पूर्ब उपसभापति प्रकाशमा सिंहबीच गएराति भेटघाट भएको छ ।

पार्टीको आसन्न महाधिवेशनको करिब दुई साता मात्र बाँकी रहेका बेला उपसभापति निधि नेता सिंहलाई भेट्न बिहीबार साँझ सिंह निवास चाक्सीबारी पुगेका थिए । रातिसम्म बसेका निधिले त्यहीँ डिनर गरेर निस्किएका थिए । खासमा देशैभरि क्षेत्रीय र जिल्ला अधिवेशनहरु जारी रहेका बेला उता २ नम्बर प्रदेशमा भने अधिवेशन शुरु भएको छैन ।

२ नम्बर प्रदेशमा क्रियाशील सदस्यको विवादका कारणले सर्लाही लगायतका केही जिल्लामा वडा तहकै हुन सकेको छैन भने रौतहटका नेताहरुले भर्खरै अनसन ताडेर अधिवेशनका लागि गएका छन् । त्यहाँ महाधिवेशन प्रतिनिधिको छनोट आजबाट सुरु हुने बताइएको छ । उता हिजोमात्र निधिले पार्टीमा सभापति उठ्ने औपचारिक घोषणा घोषणापत्र सहित गरेका छन् ।

हिजोको भेटघाट र डिनर यसै विषयमा केन्द्रित भएको थियो । महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन सहयोग माग्दै निधि चाक्सीबारी पुगेका थिए । तर समाचार स्रोतका अनुसार हिजोको डिनर निधिका लागि त्यति मिठो नभएको पाइएको छ । निधिले ‘आफूले आज नै सभापतिमा उठ्ने घोषणा गरेर सबैभन्दा पहिला औपचारिक रुपमा तपाईसँग नै सहयोग माग्न आएको छु’ भनेका थिए ।

महाधिवेशनबाट छानिने नयाँ नेतृत्वबाट आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन एकताको सन्देश दिनुपर्ने भन्दै निधिले प्रकाशमानलाई प्रस्ताव राखेका थिए । प्रकाशमानले भने निधिसँग आफैलाई सहयोग गर्न भनेका थिए । सुरुमा को कस्का कति प्रतिनिधि आए भन्ने बारेमा कुराकानी भएको र पछि निधिले आफूलाई सहयोग गर्न भनेपछि प्रकाशमानले पनि यसपटक आफूलाई इज्जतको पनि सवाल भएकाले जसरी पनि पार्टी सभापतिमा उठ्नुपर्ने अवस्था रहेको सुनाएका थिए ।

त्यसपछि निधि फर्किए तर अधिवेशन हुन बाँकी जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट भइसकेपछि फेरि एक पटक सहकार्यबारे थप छलफल गर्ने निधिको प्रस्ताव थियो । उता प्रकाशमानले भने २ नम्बर प्रदेशमा आफ्ना प्रतिनिधि ल्याउन निधिलाई आग्रह गरे । तर आफ्ना लागि सहयोग गर्न प्रकाशमानले बारम्बार आग्रह गरेपछि निधिको सभापतिमा उठ्ने औपचारिक घोषणापछिको पहिलो सहयोगको याचना नै सकारात्मक नभएको निधिको सचिवालय स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *