उड्न लागेको विमानका यात्रुहरुलाई कर्मचारीले भनिन् ‘सक्दो छिटो भाग्नुस्, विमान पड्किन सक्छ’

डिसी नेपाल
१२ मंसिर २०७८ १२:०९

काठमाडौं। ब्राजिलको कुआबा शहरको मेशरेल रोंडन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमानमा विष्फोट हुन लागेको खबर फैलिएपछि यात्रुहरुको भागाभाग भयो । टेकअफ गर्न लागेको विमानमा रहेका यात्रुहरु आत्तिएर भागेका थिए । घटना बिहीबारको हो । ब्राजिलको अजुल एयरलाइन्सको फ्लाइट २७५१ को एयरबस ३२० मा अचानक विद्युत सम्बन्धी गडबडी भएको थियो । त्यही बेला फ्लाइट अटेन्डेन्टले विमानमा बसेका यात्रुहरुलाई विमान विष्यफोट हुन सक्ने भएकोले जतिसक्दो छिटो विमानबाट बाहिर जान भनेका थिए ।

विमानमा चढेका एक यात्रु वेंडरसन क्याम्पोसले स्थानीय मिडिया जीवनसँग भने ‘विमान टेक अफ गर्न लाग्दा अचानक रोकियो त्यसपछि एक फ्लाइट अटेन्डेन्टले सबैलाई छिटो विमान छाड्न भने ।’ उनले अगाडि भने ‘फ्लाइट अटेन्डेन्टले चिच्याउँदै भन्न थालिन् कि सबै छिटोभन्दा छिटो इमरजेन्सी ढोकाबाट बाहिर जानुस् किनकि यहाँ विष्फोट हुन सक्छ । त्यसपछि त्यहाँ धक्कामुक्की सुरु भयो । म सानो बच्चासँग थिएँ । भीडको साथमा म कतिबेला बाहिर निस्किएँ थाहै भएन ।’

उनका अनुसार उनी बच्चा लिएर बाहिर निस्किँदासम्म उनकी पत्नी भने विमानभित्रै छोडिएकी थिइन् । उनले बच्चालाई बाहिर छोडेर फेरि भित्र गएर पत्नीलाई लिएर आएका थिए । अर्की यात्री जुलियाना अमोरिमले भनिन् ‘फ्लाइट अटेन्डेन्टले विमान खाली गर्न भनेपछि सबै यताउता भाग्न थाले । हामीमध्ये कति घाइते भए मलाई थाहा छैन । मलाई कुनै चोट लागेन तर मेरो अगाडि कैयौं मानिस थिए जसलाई चोट लागेको थियो ।’

घटनापछि उडान रद्द गरिएको थियो । त्यसपछि केही यात्रुलाई अर्को विमानबाट पठाइयो । एयरलाइन्सले एक बयानमा भनेको छ ‘हामीले सबै यात्रुलाई विमानको आपतकालीन निकासबाट बाहिर निकाल्यौं । हामी सबै यात्रुसँग यो घटनाको लागि माफी माग्छौं । हामीबाट जे हुन सक्छ हामी यात्रुलाई सहयोग गर्नेछौं ।’ विद्युतीय गडबडीका कारण यात्रुलाई बाहिर निकाल्नु परेको बताउँदै एयरलाइन्सले आफ्नो टेक्निकल टिमले खराबीको जाँच गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *