पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

डिसी नेपाल
१२ मंसिर २०७८ १८:३६

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई बलियो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे ।
विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए । संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद क्षण भएको उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताए । काँग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उनको भनाइ थियो । काँग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न काँग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्त्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य किरण गिरी, सांसद भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसीलगायतको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *