पाशुपत क्षेत्रमा शतबीज छर्न आउने भक्तजनकाे घुइँचाे (तस्वीरहरु)

रिता बस्नेत
१७ मंसिर २०७८ ६:२३

काठमाडौं । यतिबेला पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न र व्यापार व्यवसाय गर्नेको भिड लागेको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अघिल्लो रात पितृको नाममा दिप प्रज्वलन गर्न र मंसिर कृष्ण चतुर्दशीको दिन पितृका नाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ ।

मृतकको मुक्ति होस् भनी मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती बालिन्छ र पहिलो वार्षिकीपछि मृतकलाई स्मरण गरी बालाचतुर्दशीका दिनमा शतबीज छर्ने, दान दिने, पाठ गर्ने गरिन्छ । रातभर जाग्राम बसेर भक्तजनले बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन् ।

बिहीबार बिहानैदेखि पशुपतिमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, धुलिखेल, भक्तपुर, ललितपुर, साँखुलगायतका ठाउँबाट बत्ती बाल्न आउनेहरुको भिडलाई लक्षित गरी विभिन्न ठाउँबाट व्यापार व्यवसाय गर्न आउनेहरुको संख्या पनि उल्लेखनीय छ ।

बिहीबार साँझ पशुपति क्षेत्रमा भिन्न किसिमको बत्ती बाल्ने सामग्री ६ सय, ७ सयमा बेच्दै गरेका सिन्धुपाल्चोकका ताराप्रसाद नेपाल भेटिए । उनले केराको बोटको जराबाट बनाएको बत्ती बाल्ने सामग्री देखाउँदै भने, ‘आफैले बनाएर यो बेच्न तीनवटा गाडी फेरर आइपुगकेको हुँ ।’

२०७२ सालको भूकम्पले मान्छे धेरै बितेको समयमा पितृको नाममा रातभरि बालिने बत्तीको सोच आएकोले केराको बोटको जराले बत्ती बाल्ने दियोको आकार लिएको उनले बताए । वर्षेनी सिन्धपाल्चोकदेखि पशुपतिमा सो सामग्री बेच्न आउने अघिल्ला दुई वर्ष भने कोरोनाका कारण बेच्न नपाएको उनले बताए ।

उनका अनुसार सो सामग्रीमा बत्ती बाल्दा पवित्र हुन्छ र तेल पनि आधा लिटरले रातभरिलाई धान्छ । आग्रहकलाई देखाउनलाई एउटा बालिराखेका बत्तीलाई देखाउँदै उनले भने, ‘मैले बिहान ८ बजे बालेको यो भोलि बिहानसम्म जस्ताको तस्तै हुन्छ । तेल पनि आधा लिटरले पुग्छ । पशुपतिमा बत्ती बालेर घरमा गएर सुते पनि हुन्छ बत्ती बलिराख्छ निभ्दैन ।’

त्यसैगरी, पशुपति परिसरमा भर्खरका पढेलेखेका युवा पण्डितहरु मिलेर विशेष पितृहरुको लागि भनेर सात दिने पुराण लगाएका छन् । सो पुराणबारे जिज्ञासा राख्दा उनीहरुले भने, ‘विशेष पितृहरुको लागि भनेर यो पुराण लगाएको हो । विशेष बालाचर्तुरदशीका दिनमा शिव भगवानले बरु मलाई नसम्झ आफ्नो दिवङ्गत भएका आफन्तलाई सम्झ, तिनीहरु आजका दिनमा देव देउताभन्दा माथि छन् भन्ने महिमा भएकाले यो पुराण लगाएका हौं ।’

उनीहरुका अनुसार सो पुराणमा जो कोही गएर आफ्ना पितृहरुको नाम टिपाउने, फोटो राख्ने गर्नुको साथै गुरुहरुबाट आफ्ना मृतकको नाम वाचन गर्न लगाउने आदि गर्छन् ।

आज(शुक्रबार) बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।

वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *