उपल्लो डोल्पावासी घरभित्रै नाकाबन्दी !

डिसी नेपाल
२४ मंसिर २०७८ १५:३१

जाजरकोट। चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ । देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लाे डाेल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेकाे छ ।

राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन् ।मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकै नासको हुने गर्छ । झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ ।

डोल्पोबुद्ध गाउँपालिका-१ धोमा बस्दै आएका पेमा गुरुङ भन्छिन्, ‘पशुचौपायलाई जम्मा गरी राखेको उवाको पराल खुवाउने र मानिसहरू घरभित्र थुनिएर बस्नु पर्ने बाध्यता छ । छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिदैन ।’ बिरामी पर्दा समेत डोकोमा बेकेर उपचारमा लैजानु पर्ने उनले बताए ।

प्रहरी चाैकी सदरमुकाम दुने झरे

चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकी सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाविला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै झारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहिन अवस्थामा रहेको पेमाले भनिन्भ । हुने खानेहरू सदरमुकाम दुनैलगायत अन्य देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएको उपल्लो डोल्पाका नागरिकले बताएका छन् ।

यहाँका गर्भवती, सुत्केरी र बालबालिकाले चिसोयाम भरी निकै नै सास्ती पाउने गरेका छन् । सञ्चारसम्पर्क समेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा नियमित लगाउनु पर्ने खोप सेवा समेत चार महिना बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमख सिंहराज शाहीले बताए ।

उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप ल्याउने सक्ने क्षमता छैन । कम्तिमा चार महिना खोप बन्द हुने गर्छ ।’ यहाँ सर्वसाधारणले चिसो मौसमभर पुग्नेगरी खाना जम्मा गरेर राखेका छन् । यहाँका कार्यालय, स्थानीय तहका कर्मचारीहरू समेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् ।

उपल्लो डोल्पा तीन वटा हावापानी भएको जिल्ला हाे । उपल्लो डोल्पा सधै चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम छ । तल्लो डोल्पामा जाजरकोटसँग मिल्दोजुल्दो मौसम पाइन्छ । यहाँको से-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरू समेत चिसोले प्रभावित हुने गरेका छन् ।

उपल्लो डोल्पामा चिसो मौसयमा स्वास्थ्य संस्था सम्म बिरामी लिन नसक्दा स्थानीय आम्चीद्धारा उपचार कार्य गरिरहेका सर्वसाधारणले बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवा लगाएतका संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ ।

हिउँका कारण विकास निर्माणमा बाधा

उपल्लो डोल्पामा हिमपातका कारण विद्यालय समेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्ने छन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्ष समेत बदल्नु पर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *