रु ५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

डिसी नेपाल
२६ मंसिर २०७८ १६:४३

काठमाडौं।रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।

जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका छन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।

होटेलमा ४ स्वीट रुम र ३६ डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले बताए । होटेलमा सय जना क्षमताको दुई सभाहल, ग्राउन्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेसमा रेष्टुरेन्ट रहेका छन् ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन भएकाले आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको उनले उल्लख गरे । होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनीलगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवद्र्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।

“निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, त्यसरी नै सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ” उनले भने । होटलमा ५० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । रुपन्देहीका होटेलमा मात्रै झन्डै रु २५ अर्बको लगानी रहेको बताइएको छ । यहाँ साना–ठूला गरी दुई हजार ५०० होटेल छन् । त्यसमध्ये १५० भन्दा बढीस्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी सङ्घ रुपन्देहीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *