आँधीखोलामा माछाका भुरा छाडियो

डिसी नेपाल
२ पुष २०७८ १६:५४

काठमाडौं। आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले बिहीबार आँधीखोलाको विभिन्न १० ठाउँमा माछाका भुरा छोडेको हो । कालीगण्डकी माछा प्रजनन केन्द्रबाट माछाका भुरा ल्याइएको थियो ।

माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको जनाउँदै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।

उनले भने, “नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व हुँदैन”, यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको हो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गर्नुपर्ने बताए । जलारी समुदायको जीवनयापनको आधार माछा भएको र यसका लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको थियो ।खोलामा साना भुरा छोड्दा बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पलेसमेत खाने सम्भावना बढी रहेकाले कम्तीमा पनि १५ देखि २५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए ।

हेडे २५ हजार, गर्दी २५ हजार, ठेड २५ हजार र सहर जातका २५ हजार माछा तालमा छाडिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए । आँधीखोलामा खोलामा माछाका भुरा छाडिएसँगै गाउँपालिकाले अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेन्ट लगाउने, विषादी हाल्ने जस्ता तरिकाले माछा मार्नसमेत बन्द गरेको गाउँपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *