रेडस्टारलाई फिदिम नगर कपको उपाधि

डिसी नेपाल
३ पुष २०७८ २१:४४

काठमाडौैं। झापाको रेडस्टार फुटबल क्लब विर्तामोडले फिदिम नगर कप फुटबल प्रतियोगिता–२०७८ को उपाधि जितेको छ । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै रेडस्टारमा उपाधि जितेको हो ।

पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित बराजु खेलमैदानमा सञ्चालन भएको उक्त प्रतियोगिता अन्तर्गत आज आयोजित फाइनल खेलमा रेडस्टारका लागि मिलन राई, रोहन कार्की र सरोज कार्कीले गोल गरेका थिए । मिलन राईले १८औं मिनेटमा गोल गर्दै रेडस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि रोहनले २५औं तथा सरोजले ३०औं मिनेटमा गोल गरेका थिए । रेडस्टारले पहिलो हाफमै ३–० को अग्रता कायम गरेपछि दबावमा परेको ताप्लेजुङ दोश्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सक्षम भएन ।

फाइनल खेलको म्यान अफ दी म्याच रेडस्टारका मिलन राई, उत्कृष्ट डिफेन्डर रेडस्टारकै विशाल खवास, उत्कृष्ट गोलरक्षक रेडस्टारकै राजकुमार लिम्बू घोषित हुँदै पुरस्कृत भए । यस्तै ताप्लेजुङका अनुप सेन्दाङ उत्कृष्ट खेलाडी, चर्च ब्वाइज क्लब काठमाडौंका सोम मगर सर्वाधिक गोलकर्ता घोषित भई पुरस्कृत भए । उपाधि जितेसँगै रेडस्टारले रु. १ लाख ५० हजार तथा उपविजेता ताप्लेजुङले रु. ८० हजार पुरस्कार प्राप्त गरे ।

स्वतन्त्र क्लब रानीटारको आयोजना, रानीटार युनाइटेड क्लब रानीटारको सहआयोजना र फिदिम नगरपालिकाको प्रवद्र्धनमा प्रतियोगिता आयोजना भएको थियो । विजेता तथा उपविजेता समूह तथा खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, फिदिम वडा नं. ७ का वडाध्यक्ष गोपालप्रसाद गुरुङ, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

तेश्रो संस्करणको उक्त प्रतियोगितामा भारतको एक सहित नौ वटा फुटबल टोलीले सहभागिता जनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *