गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेशनन फ्लाईटका लागि अझै डेढ महिना लाग्ने

डिसी नेपाल
४ पुष २०७८ १४:००

बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट हुने भएको छ। विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा केही लिबम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरूको चेकजाँच भइरहेकाले डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थलमा विद्युतको समस्या समाधान भैसकेको, प्राविधिकहरूलाई तालिम दिने काम भैरहेको र मेसिनहरूको परीक्षण जारी रहेकाले डेढ महिनाभित्र यी काम सम्पन्न गरी फ्लाइट हुनेछ।

जनवरी अन्तिम वा फेब्रुवरीको पहिलो साता क्यालिब्रेशन फ्लाइट हुने र त्यसकाे तीन महिनामा व्यावसायिक उडान सुरू गर्ने तयारी भैरहेको प्रवक्ता कर्णले बताए।

‘व्यावसायिक उडानपछि नियमित उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्न तीन महिना लाग्छ, आगामी अप्रिलदेखि व्यावसायिक उडान सुरू गर्ने गरी तयारी भैरहेको छ,’ उनले भने। अहिले क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईका प्राविधकहरू नेपाल आइसकेका छन् । तर, जहाज भने आएको छैन । ‘बीचमा कुनै बाधा भएन भने अप्रिलदेखि व्यावसायिक उडान सुरु हुन्छ,’ प्राधिकरणका प्रवक्ता कर्णले भने।

क्यालिब्रेसन फ्लाइट भनेको के हाे ?

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छ या छैन् भनेर परीक्षण गर्ने हो। यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीपी२ का प्रमुख प्रविण न्यौपानेले बताए ।

जडान भएका उपकरणहरूले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट थाहा हुन्छ।

एरो थाई कम्पनीले विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानको जिम्मा पाएको थियो । तर, थाई सरकारले कोरोनाको कारण देखाउँदै आफ्नो देशका प्राविधिकहरूलाई बाहिर जान अनुमति नदिएकोले एक वर्ष ढिलाई भएको प्रवक्ता कर्णको भनाइ छ।

‘थाई प्राविधिकहरू समयमा नआउँदा क्यालिब्रेसन फ्लाइट केही ढिला भएको हो तर अहिले थाई प्राविधिक आएका छन् । तर, जहाज आएको छैन, अब कहाँबाट अन्य प्राविधिकहरू ल्याउने त्यो काम थाई एरोको हो,’ उनले भने ।

क्यालिब्रेशन फ्लाइटका लागि यूरोप र अमेरिकाका प्राविधिक पनि ल्याउनु पर्ने हुन्छ । प्रथम चरणको निर्माण सकिएको विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाई, अमेरिकन र युरोपका प्राविधिक एकसाथ हुनुपर्छ । तीन स्थानका प्राविधिक एकसाथ नजुट्दा ढिलाई हुन पुगेको हो ।

दुई चरणमा निर्माण भएको विमानस्थल आइसिपी१ र आइसिपी२ अन्तर्गत काम भएको छ । आईसिपी१ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनल बिल्डिङलगायतका संरचना निर्माण भएका छन् भने आईसिपी२ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्राविधिक काम भएको छ।

विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ गर्ने एप्रोन, सब-वे, ट्याक्सी-वे लगायतका संरचना निर्माण भएका छन् । मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङलगायतका संरचनाको काम पनि सकिएको छ । कार्गो भवन पनि करिब सक्पन्न हुने अवस्थामा छ । यसको लागत ९० करोड ३६ लाख ३४ हजार ६०० रुपैयाँ रहेको छ।

विमानस्थलको सुरूको लागत ६ अर्ब २२ करोड रहे पनि काम सकिँदासम्म लागत बढेर आठ अर्ब ८२ करोड पुगेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब मुआब्जा वितरण गरिएको थियो। न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *