लुम्बिनीका मुख्यमन्त्री केसी र कतारका राजदूतबीच भेट

डिसी नेपाल
५ पुष २०७८ २१:१३

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपालस्थित कतारका राजदूत युसुफ बिन मोहम्मद अल हायलबीच आज भेटघाट भएको छ । भेटमा मुख्यमन्त्री केसीले प्रदेशको शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोगका लागि कतार सरकारसँग अनुरोध गरेका थिए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश स्वास्थ्य र शिक्षाको दृष्टिकोणले पछि परेको उल्लेख गर्दै सहयोगका लागि राजदूत हायलसँग प्रस्ताव राखेका थिए । उनले लुम्बिनी पर्यटकका लागि निकै सम्भावना भएको उल्लेख गर्दै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । नेपालमा कोरोना महामारीका समयमा कतार सरकारले सहयोग गरेको स्मरण गर्दैै मुख्यमन्त्री केसीले आगामी दिनमा कोरोना रोकथामका लागि थप सहयोगको अपेक्षा गरेको बताए ।

सो अवसरमा राजदूत हायलले रोजगारीका लागि उल्लेख्य नेपाली आफ्नो देशमा जानुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहकार्य गर्न चाहेको बताउँदै आफूहरुसँग आर्थिक स्रोतसमेत भएकाले त्यसका लागि सम्झौता आवश्यक रहने उल्लेख गरे ।

भेटमा लुम्बिनी विश्वविद्यालयको निर्माण, अत्याधुनिक बर्थिङ सेन्टर, श्रममा दक्ष बनाउने सीप विकास कार्यक्रम, लुम्बिनी प्रदेश र कतार सरकारबीच भगिनी सम्बन्ध विस्तार गर्नेलगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *