नेपालीभाषी भुटानीले बनाए अमेरिकामा छोटो फिल्म

डिसी नेपाल
९ पुष २०७८ ८:४२

कोलम्बस/ओहायो। तेस्रो देश पुनर्वासपछि नेपाली मुलका भुटानीहरु बिस्तारै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति जनाउन थालेका छन्। तेस्रो देशको पुनर्वाससगै साहित्य लेखन, गीतसंगीत क्षेत्रबाट आइरहेका उनीहरु चलचित्र बिधामा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन्।

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा रहेका केही नेपालीभाषी भुटानी युवाहरुले हालैमात्र कोलम्बसबाटै एडिक्सन नामक छोटो चलचित्र बनाएका छन्। समुदायका युवाहरु कुलतमा लागेको विषयमाथि बनाइएको यो चलचित्रलाई भुटानी नेपाली समुदायमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका अर्जुन सुबेदीले निर्माण गरेका हुन्।

‘लागुपदार्थ सेवनमा लागेर हाम्रै समुदायका केही युवाहरुको जीवन तहसनहस भएको छ’ चलचित्रका कथाकार तथा मुख्य कलाकार श्याम क्षेत्री भन्छन्, ‘यसको परिणाम विकराल देखिँदै गएको छ, त्यसैले सचेतनाका लागि यो फिल्म बनाएका हौं।’

कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, क्यानल विन्चेष्टर, पटासकला, एट्ना, ब्ल्याकलिक, जस्ता स्थानमा छायांकन गरिएकोे यो चलचित्र ४० मिनेट लामो रहेको निर्माण पक्षले बताएको छ।

तेस्रो मुलुकमा पुनर्वास भएपछि नेपाली कला संस्कृति जोगाउनेदेखि नेपाली भाषी भुटानीको हितको लागि काम गर्दै आएको संस्था नक्षत्र फाउन्डेसनको प्रस्तुति रहेको यो चलचित्रमा पटकथा /निर्देशन काशी कँडेलको रहेको छ भने सिनेमाटोग्राफ्री पृथ्वी ठटालको रहेको छ। प्रभाकर थापाको सम्पादन, सुरज सिवाको संगीत रहेको यो चलचित्रमा रमेश तिमिल्सिनाले निर्माण नियन्त्रकको भुमिका निर्वाह गरेका छन्।

श्याम क्षेत्री, अश्मिता रसाइली, सन्तोष रामदाम, नवीन जेके, पुरु भण्डारीको मुख्य भुमिका रहेको यो चलचित्रमा कमल ढकाल, लाल थापा, देवी घिमिरे, गंगा धिताल, हेमा मैनाली, मणि विश्व, मुना सिंह राहाया लगायतका कलाकारको अभिनय रहेको छ।

थुप्रै भुटानी नेपालीहरु तेस्रो मुलुक अमेरिकामा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन् तर कतिपय युवाहरु यहाँ आएपछि कुलत तिर पनि फसेको देखेपछि यस विषयमा फिल्म बनाएको निर्माता अर्जुन बताउँछन्।

भन्छन्, ‘लागुपदार्थ दुब्र्यसनिले जीवन बर्वादीबारे सचेतना फैलाएर युवाहरुलाई यसबाट टाढा राख्न भुमिका खेलोस भन्ने उद्देश्यले यो शिक्षामुलक/सन्देशमुलक सिनेमा बनाएका हौंं।’

रेनोल्सबर्गको सिटी काउन्सिल सदस्य तथा नेपालीभाषी भुटानी समुदायका अगुवा भुवन प्याकुरेल लागुऔषधको दुरुपयोगले आफ्नो समुदायमात्रै नभएर अमेरिकी समाज नै प्रताडित रहेको बताउँदै समुदायका युवाहरुलाई सही मार्गमा हिड्न सचेतना जगाउने यस्ता फिल्मले ठूलो भुमिका खेल्ने बताउँछन्। भन्छन ‘यस चलचित्रका निर्माता अर्जुन सुवेदीको समाजका लागि सह्रानीय काम हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *