उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै माेटरसाइकल लिएर फरार

डिसी नेपाल
१० पुष २०७८ ७:४४

दाङ। दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएकाे छ। कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन्। छालाको उपचार गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भनिएका परियार त्यहीँबाट भागेको प्रहरीको भनाइ छ। उनी आफूलाई अस्पताल पुर्‍याइएको प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन्।

प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाइकलसहित परियारलाई उपचार गर्न लगिएकाे थियाे । तर, उनी माेटरसाइकलसहित भागेपछि डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिए।

घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो हुनसक्ने प्रहरीकाे आँकलन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *