हुम्लामा बिहानैदेखि हिमपात : हिउँ जम्याे, घरबाहिर निस्कन समस्या (फाेटाेफिचर)

डिसी नेपाल
१२ पुष २०७८ १०:४६
80
Shares

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ। बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएकाे हाे । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम निकै घटेकाे छ। सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाकाे मुचुकाका स्थानीय लाप्का लामाले जानकारी दिए । उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट हिउँ जमेकाे छ । हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

हिमपातले दक्षिण क्षेत्रका किसान खुशी

लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रन नसक्दा चिन्तामा रहेका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाडका स्थानीय हिमपातसँगै खुसी भएका हुन् ।

हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकसमेत राहत भएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *