‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी

डिसी नेपाल
१३ पुष २०७८ १७:५१

काठमाडौं। रामपुरमा सञ्चालनमा ल्याइएको ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी भएको छ । अनाथ बालबालिकालाई लक्ष्य गरीे ल्याइएको यस कार्यक्रमले बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याएको पाइएको हो ।

अभिभावक गुमाएका अनाथ बालबालिकाको पठनपाठनमा हौसला प्रदान गर्न यहाँको रामपुर नगरपालिका–७ ले यो कार्यत्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत वडा कार्यालयले वर्षेनी बजेट विनियोजन गरी अभिभावक गुमाएका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने गरिएको छ । बुबाआमा गुमाएर पठनपाठनमा समस्या झेल्दै आएका बालबालिकाका लाभान्वित भएका छन् । वडाले शैक्षिक सामग्री उपलब्ध गराउन थालेपछि बालिबालिका उत्साहित हुँदै विद्यालय जाने गरेको पाइएको पनि बताइएको छ ।

शैक्षिक सामग्रीको अभावमा विद्यालयमा नियमित आउन नसकिरहेका बालबालिका पनि कापी, कलम, झोलालगायतका सामग्री उपलब्ध भएपछि विद्यालय आउन थालेका पाइएको सो वडा कार्यालयले जनाएको छ । वडाले विसं २०७५ मा ६५ जना, २०७६ मा ६० जनालाई शैक्षिक सामग्री वितरण गरेको । यसवर्ष ७१ जना बालबालिकालाई छनौट गरिएको वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले जानकारी दिए । विसं २०७७ मा लक्षित वर्गको रकम कोभिड–१९ मा खर्च गरेको जनाएको थियो ।

आधारभुत मावि कक्षा १० मा पढ्ने तेजकुमारी विक पठनपाठनमा शैक्षिक सामग्री पाउँदा घरमा कापी कलम किन्ने समस्या हटेको बताउँछिन् । उनले आफूहरु जस्ता अनाथ बालबालिकालाई सम्झेर ल्याएको यस कार्यक्रमले पढाइमा आत्मबल बढेको बताइन् । यसवर्ष वडाले आधारभूत माविमा २९ जना, विजय प्राविमा १२, संयुक्त प्राविमा १०, अकला प्राविमा आठ र आनन्द निकेतन विद्याश्रममा १२ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउँदैछ ।

नगरपालिकाका प्रमुख रमणबहादुर थापाले अभिभावक नभएका बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने गरी यो कार्यक्रम ल्याइएको बताए। उनले स्थानीय पाठ्यक्रममा कस्ता खालका विषयवस्तु समावेश गर्दा शिक्षण कार्य प्रभावकारी हुन्छ भन्ने विषयमा पनि सुझाव आह्वान गरे । आजका बालबालिका भविष्य कर्णधारलाई कापी, कलम, झोला जस्तो सानो कुराले पढाई प्रभावित नहोस् भनी वडाले वर्षेनी बजेट विनियोजन गरेर पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री सहयोग कार्यक्रम गर्दै आइरहेको वडाध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *