एमसीसीलाई किन यत्तिकै अल्ममल्याउन चाहन्छन् देउवा?

मदन कोइराला
१४ पुष २०७८ ७:२२

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला जता गए पनि अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीबारे बोल्न थालेका छन् र उनको जोड सकेसम्म पारित गरिहाल्नुपर्छ भन्ने देखिन्छ सतहमा। तर, के उनी एक्लै वा उनको पार्टीले मात्रै यो सम्भव छ? अवश्य छैन।

यसो हो भने के माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साथ दिएनन् एमसीसी पास गर्न भने सत्ता गठबन्धन तोड्न देउवा तयार छन्?

पछिल्ला केही दिनयता सरकारले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) लाई संसदको जारी अधिवेशनबाट अनुमोदन गर्न चाहेको सन्देश प्रवाह गर्न खाजेको छ। तर, यो विषयमा सत्ता गठबन्धनकै अन्य दलका मन्त्रीहरु भने मौन छन् र सकेसम्म यो विषयमा बोल्नै नपारोस् भनेर छलिने गरेका छन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डको प्रशंसा गर्दै एमसीसीको विषय प्रवेश गराएका थिए। अमेरिकाले समेत संसदको जारी अधिवेशनबाट एमसीसी अनुमोदन हुने विश्वास लिएको छ। र, यसबारे प्रधानमन्त्री देउवाले अमेरिकालाई आश्वस्तसमेत पारेका छन्।

तर सत्ता सहयात्री दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा स्पष्ट रुपमा एमसीसीको पक्षमा नहुँदा तत्काल एमसीसी संसदबाट अनुमोदन हुने संभावना छैन। यति बुझ्दा बुझ्दै पनि प्रधानमन्त्री देउवा आफूले जोड गरेको देखाउन उद्यत छन्।

एमसीसीले नेपालाई कतै पनि नोक्सान गर्दैन भन्ने कुरामा कांग्रेस क्लियर छ, तर जनतामा परको भ्रम चिर्न सकिने अवस्था अहिले छैन, जनतालाई एमसीसी सही हो भनेर बुझाउने जाने समय छैन, जाने हो भने पनि जनताले उल्टै लखेट्ने अवस्था छ, त्यसो हुनाले आगामी निर्वाचनसम्म एमसीसी अगाडि बढ्ने संभावना छैन।

तर, उनी सत्ता गठबन्धन तोड्न तयार देखिएका छैनन् बरु प्रचण्डलाई यो संसदको अवधिभरमात्र होइन त्यसपछि पनि गठबन्धन रहनसक्ने भन्दै सार्वजानिक आश्वासन बाँड्दै छन्। यसले उनी पनि एमसीसी पारित गर्न मुखले मात्र तयार देखिएका छन् कामले त्यसो गर्न चाहँदैनन् कि भन्ने आशंका गर्नेहरुलाई बल दिएको छ।

‘नेपाली कांग्रेसले एमसीसी पास गर्न खोज्दा खोज्दै पनि गर्न नसकेको भन्ने सन्देश मित्र राष्ट्रहरुलाई प्रवाहित गर्ने र एमसीसी पारित नगर्ने रणनीतिमा स्वयं प्रधानमन्त्रीजी हुनुहुन्छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले सामान्य बुझाइ के हो भने एमसीसीको विपक्षमा जनतालाई उचालिएको छ र जनतालाई यसबारे धेरै भ्रम छरिएको छ, अहिले एमसीसीको पक्षमा जानु पार्टीलाई आगामी चुनावमा ठूलो घाटा हो भन्ने बुझाइ नेताहरुमा छ।’

निर्वाचनमा जाने बेलामा र जीवनको उत्तराद्र्धमा आएर अन्तिम पटक प्रधानमन्त्री बन्ने अवसर देउवालाई बाँकी नै रहेको अवस्थामा फेरि देउवाले आत्मघाती गोल नगर्ने निकट स्रोतले दाबी गरेको छ।

‘अघिल्लो निर्वाचनमा तत्कालीन प्रधानन्यायाधीश सुशील कार्की प्रकरणले पार्टीले ठूलो क्षति व्यहोर्नु पर्‍याे, अहिले एमसीसीबारे जनतामा भ्रम छ, अहिले कांग्रेसको पहलमा संसदबाट एमसीसी पारित भयो भने आगामी निर्वाचन कांग्रेसका लागि प्रत्युत्पादक हुन्छ भन्ने कुरामा प्रधानमन्त्रीसहित कांग्रेसका सबैजसो शीर्ष नेता सहमत हुनुहुन्छ,’ देउवा निकट स्रोतले भन्यो, ‘एमसीसी राष्ट्रघाती सम्झौता होइन, यो राष्ट्रलाई चाहिने परियोजना हो भन्ने कुरा कांग्रेसको ठूलो तप्काले बुझेको छ। तर जनतामा माओवादीपक्ष र कतिपय राजावादीहरुलेसमेत व्यापक भ्रम फैलाएका छन्, अनर्गल प्रचार गरेका छन्, सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको छ, यसले हामीलाई व्याकफायर गर्छ, त्यसकारण अहिले हामीले यो सम्झौता संसदबाट अनुमोदन गर्‍याैं भने निर्वाचनमा हामीले गम्भीर परिणाम भोग्नुपर्छ भन्नेमा पनि प्रधानमन्त्रीजी सशंकित हुनुहुन्छ।’

एमसीसीलाई राष्ट्रघात भन्ने मानिसहरु कतैबाट संचालित भएको निष्कर्ष निकालेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूलाई दोष नलाग्ने गरी छल्न चाहेका छन्। उनले आफूले पारित गराउन चाहेको र अन्य दल त्यसका लागि तयार नभएको भन्दै आगामी निर्वाचनसम्म एमसीसीलाई अल्झाएर राख्ने र निर्वाचनपछि आफ्नो दलको बहुमत आएको अवस्थामा संसदबाट अनुमोदन गर्ने देउवाको रणनीति रहेको निकट स्रोतले जनाएको छ।

‘एमसीसीले नेपालाई कतै पनि नोक्सान गर्दैन भन्ने कुरामा कांग्रेस क्लियर छ, तर जनतामा परको भ्रम चिर्न सकिने अवस्था अहिले छैन, जनतालाई एमसीसी सही हो भनेर बुझाउने जाने समय छैन, जाने हो भने पनि जनताले उल्टै लखेट्ने अवस्था छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसो हुनाले आगामी निर्वाचनसम्म एमसीसी अगाडि बढ्ने संभावना छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *