भेरी अस्पतालको कर्मचारी आवास गृहमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु

डिसी नेपाल
१५ पुष २०७८ ११:४२

राँझा। नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ।

अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उनकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन्।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ। चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए। ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए।

घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *