बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग

डिसी नेपाल
१५ पुष २०७८ १९:३९

काठमाडौं। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेकाछन् ।

बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने,‘बैतडीका मुख्य सडक मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर, फेरी भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न फेरी मजबुत योजना बनाउन जरुरी छ ।

यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यसतर्फ आयोगको ध्यानाकर्षण गराए । जिल्लाको सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक स्थानीयतहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्नका लागी योजना बनाउन आग्रह गरे । उनले भने,‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागी सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीयतहहरूले पालिकाको केन्द्रसम्म पुग्न चक्रपथ निर्माण गरिरहेकाछन् ।

यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’कार्यक्रममा जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिले माग गरेका छन् ।

आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासँगको छलफलपछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयमा ध्यान केन्द्रित भएको बताए । विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उनले बताए । बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकायसँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिए ।

आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग गरी दुई ओटा छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *