बुटवलमा बी लेभल पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने

डिसी नेपाल
१६ पुष २०७८ १७:५४

काठमाडौं। आगामी २२ माघदेखि बुटवलमा बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लाफा समूह बुटवलको आयोजनामा दुई दिनसम्म हुने प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मकवानपुर, कास्कीलगायतका जिल्लाबाट खेलाडीहरू सहभागी हुने छन् । यस वर्ष एक सय ६५ बढी टिम सहभागी हुने कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

खुलातर्फ ११५ तथा भेट्रान्सतर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फका विजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदीयमान खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको समूहका संरक्षक वासुदेव लामिछाने मगरले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुलातर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ दुई हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए ।प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका अध्यक्ष तारा रेश्मीमगरले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरूको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए ।

लगातार तीन वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको समूहले यस वर्ष स्थानीयस्तरका खेलाडी उत्पादन गर्न बी लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मीमगरले बताए । प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा समेत टेवा पुग्ने उनले बताए ।समूहले सामाजिक  उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । समूहले भदौ महिनामा बी लेभल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

पटक पटक पनि स्थानीय तहसँग हल निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरे पनि जग्गा नपाउँदा निजी कभर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समूहका पूर्वअध्यक्ष केशव रानाले गुनासो गरे । समूहमा हाल एक सय ७५ भन्दा बढी सदस्यहरूले दैनिक रूपमा ब्याडमिन्टन खेल्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *