तालिबानले पाकिस्तानको सीमाबाट धमाधम काँडेतार किन हटाइरहेको छ ?

डिसी नेपाल
२० पुष २०७८ १५:४४
1.8k
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबान शासन आएपछि सामाजिक संजालमा लगातार यस्ता भिडियो सार्वजनिक भइरहेका छन् जसमा पाकिस्तान र अफगानिस्तानको सीमामा सुरक्षाका लागि लगाइएका काँडेतारहरु उखेलिएका छन् । यो भिडियोपछि अफगान तालिबानको तर्फबाट केही बयान जारी भएका छन् जसमा तालिकानले यो सीमा स्वीकार नगर्ने बताइरहेको छ । आइतबारसम्म पाकिस्तान यस विषयमा चुप थियो तर सोमबार विदेशमन्त्री शाह महमुद कुरैशीले एक बयान दिएका छन् ।

कुरैशीले एक पत्रकार सम्मेलनमा भने ‘पाकिस्तान पाक–अफगान सीमामा तालिबानले काँडेतार उखेलेको विषयमा चुप छैन । तारबार हामीले लगाएका हौं र इंशाअल्लाह हाम्रो प्रयास जारी रहनेछ । अफगानिस्तान हाम्रो मित्र र छिमेकी देश हो । हाम्रो उनीहरुसँग सम्बन्ध छ र जे समस्या काएका छन् त्यसको कुटनैतिक तरिकाले समाधान खोजिनेछ ।’ केही व्यक्तिले यो विषयलाई ठूलो बनाउन खोजिरहेको बताउँदै उनले आफूहरुलाई यो विषय धेरै उचाल्नु उचित नलागेको तर आफ्नो हितको भने रक्षा गर्ने बताए ।

सामाजिक संजालमा शेयर गरिएका भिडियोमा केही व्यक्तिहरुले सीमामा लगाइएका काँडेतारहरु उखेलेर बेरिरहेका देखिन्छन् । ट्वीटरमा एउटा भिडियो स्थानीय पत्रकारले शेयर गरेका छन् । भिडियोमा अफगानिस्तानको तालिबान सरकारको रक्षा मन्त्रालयका एक प्रवक्ताले काँडेतार लगाउँदा दुई राष्ट्रबीच दूरी बढ्ने बताउँदै यो तारबार वैश्विक र क्षेत्रीय सिद्धान्त विपरित भएको बताएका छन् । सीमामा काँडेतार उखेल्ने सिलसिला २–३ हप्तादेखि जारी छ । केही भिडियोमा अफगानिस्तानको खुफिया विभागका पदाधिकारी पनि देखिएका छन् ।

अफगान पत्रकार बिलाल सरवरीले आफ्नो ट्वीटमा भनेअनुसार यसरी तारबार उखेल्ने सुरक्षा बलको नेतृत्व तालिबानका इन्टेलिजेन्स चिफ डा. बशीरले गरिरहेका छन् । पत्रकार सरवरीका अनुसार अफगान फौजले यी काँडेतार अफगानिस्तानको सीमाभित्र लगाइएको बताएको छ । पाकिस्तानले अफगानिस्तानतर्फबाट आतंकवादी र अन्य अपराधी गैर कानुनी तरिकाले देशमा प्रवेश गर्नबाट रोक्न ४ वर्ष पहिले काँडेतार लगाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *