नेपालबाट भारतका १०० भन्दा धेरै प्रतिष्ठित महिलाको लिलामी, १८ वर्षकी युवती पक्राउ
काठमाडौं। करिब १०० महिलाहरुलाई अनलाइनमा लिलामी गर्ने एप ‘बुल्ली बाइ’ मामिलामा मुम्बइ पुलिसले १८ वर्षकी युवतीलाई पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै यो मामिलामा महत्वपूर्ण खुलासा भएको छ । मुम्बइ पुलिसका अनुसार पक्राउ परेकी आरोपी युवती श्वेता सिंहले कथित रुपमा नेपालमा रहेका सामाजिक संजालका मित्रको निर्देशनमा काम गरिरहेकी थिइन् ।
जाँच एजेन्सी सूत्रका अनुसार श्वेता सिंहसँग गरिएको प्रारम्भिक सोधपुछ र जाँचमा गियोउ नामका एक व्यक्तिले नेपालबाट एपमा गरिने गतिविधिबारे निर्देशन दिइरहेका थिए । श्वेतालाई उत्तराखण्डको उधम सिंह नगर जिल्लाबाट हिरासतमा लिइएको हो । उनलाई उत्तराखण्डकै अदालतमा उपस्थित गराएर मुम्बइ पुलिसले ५ जनवरीसम्मको लागि ट्रान्जिट रिमाण्डमा लिएको थियो । श्वेता भर्खरै १२ कक्षा पास गरेकी छात्रा हुन् ।
टाइम्स अफ इण्डियाका अनुसार बैंगलुरुमा केही दिनअघि यही केसमा पक्राउ परेका आरोपी विशाल कुमारले श्वेताबारे जानकारी दिएका थिए । विशाल कुमारका अनुसार उनी श्वेता सिंहको सम्पर्कमा थिए र श्वेता ती व्यक्तिहरुको सम्पर्कमा थिइन् जो बुल्ली बाइ एपमा पोस्ट र अन्य गतिविधिहरुमा काम गरिरहेका थिए । मुम्बइ पुलिसले सुल्ली डिल्स घटनामा पनि विशालको संलग्नताबारे जाँच गरिरहेको छ । सुल्ली डिल्स पनि २०२१ मा देखिएको थियो र यसमा पनि बुल्ली बाइ एपमा जस्तै गतिविधि भएका थिए ।
इन्जिनियरिङका एक औसत छात्र विशालको काम एक विशेष समुदायका महिलाहरुको तस्वीर एडिट गरेर एपमा अपलोड गर्नु थियो । श्वेता सिंहले जटखालसा०७ नामको एक फर्जी ट्वीटर ह्याण्डल चलाइरहेकी थिइन् । यो ट्वीटर ह्याण्डर घृणाजनक पोस्ट, आपत्तिजनक तस्वीर र टिप्पणी अपलोड गर्न प्रयोग भइरहेको थियो । ट्वीटरमा उनीसँग जोडिएका अरु पनि यही विचारधारा मान्थे ।
श्वेता सिंहलाई उत्तराखण्डको उधम सिंह नगरबाट गिरफ्तार गरिएको हो । उनका पिताको कोरोनाकालमा मृत्यु भएको थियो भने आमाको क्यान्सरका कारण मृत्यु भएको थियो । उनकी एक दिदी, एक बहिनी र एक भाइ छन् । श्वेता इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गरिरहेकी थिइन् । पुलिसले कथित नेपाली नागरिक र श्वेतासँग जोडिएका अन्य व्यक्तिहरुको भूमिकाबारे जाँच गरिरहेको छ । श्वेतालाई आज मुम्बइ लगेर बान्द्राको अदालतमा उपस्थित गराइनेछ ।







डिसी नेपाल







Facebook Comment