भारत प्रशासित कश्मिरमा आपराधिक षड्यन्त्र गरेको आरोपमा पत्रकारको गिरफ्तारी

डिसी नेपाल
२४ पुष २०७८ १३:३४
60
Shares

काठमाडौं। भारत प्रशासित कश्मिरमा आपराधिक षड्यन्त्रको आरोपमा एक पत्रकार सजाद गुललाई गिरफ्तार गरिएको छ । सजादलाई एक भिडियो पोस्ट गरेका कारण मुद्दा दर्ता गरी गिरफ्तार गरिएको हो । सजादले केही दिन पहिले एउटा भिडियो पोस्ट गरेका थिए जुन भिडियोमा श्रीनगरमा भएको एक पुलिस इन्काउन्टरमा मारिएका लश्कर ए तैयबाका मथित चरमपन्थी सालेम परेको मृत्युपछि बान्दीपोराको हाजिन क्षेत्रमा परेका परिवार र आफन्तले विरोध र नाराबाजी गरिरहेका देखिएका थिए ।

सजाद गुल सेन्ट्रल युनिभर्सिटी अफ कश्मिरमा पत्रकारिता अध्ययन गर्दैछन र साथमा ‘द कश्मिर वाला’ मिडिया हाउसमा प्रशिक्षार्थी पत्रकारको रुपमा काम गर्दैछन् । ‘द कश्मिर वाला’का सम्पादक फहाद शाहका अनुसार सजादले यो विषयमा पहिलेदेखि नै एक स्टोरी गरिरहेका थिए र यही क्रममा उनले सामाजिक संजालमा भिडियो पोस्ट गरेका थिए ।

फहाद शाहका अनुसार सजादमाथि पुलिस कारवाही गरिएको यो पहिलो पटक होइन । यसअघि पनि उनको रिपोर्टिङको विषयलाई लिएर उनीविरुद्ध मुद्दा दर्ता गरिएका थिए र उनलाई धम्की पनि दिइएको थियो । फहादले सजादको गिरफ्तारीको निन्दा गर्दै उनको तत्काल रिहाइको माग गरेका छन् । उनले भने ‘कुनै विषयको रिपोर्टिङ गर्नु अपराध होइन तर यहाँ यसको उल्टो भइरहेको छ ।’

पुलिसले सजादविरुद्ध आइपीसी धारा १२० बी (आपराधिक षड्यन्त्रको पक्षमा), १५३ बी (राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पार्ने दावी) र ५०५ (जनताको लागि चेतावनी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । बान्दीपोराका एसपी जाहिद खानले बीबीसीसँग कुरा गर्दै सजादले महिलाहरुलाई प्रदर्शन गर्नको लागि उक्साएको र पछि त्यही प्रदर्शनको भिडियो क्लिप बनाएर सामाजिक संजालमा अपलोड गरेर भाइरल गरिदिएको आरोप लगाएका छन् ।

जाहिद खानका अनुसार सजादमाथि पहिले पनि झुटो समाचार फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको थियो र अहिले पनि उनले झुटो खबर फैलाएका छन् । सजादका दाजु जावेद अहमदले भने पुलिसले लगाएका सबै आरोप गलत भएको बताए । उनका अनुसार सजादले कसैलाई प्रदर्शन गर्नको लागि उक्साउन सम्भव नभएको दावी गरेका छन् ।

सजादका दाजु जावेदले भने ‘५ जनवरीका दिन राती करिब १० बजे सेनाको एक टुकडीले उनलाई घरबाट आफ्नो साथमा लिएर गए । केही घण्टापछि हामीलाई थाहा भयो कि उनलाई पुलिसको जिम्मा लगाइएको छ । छानबिनपछि थाहा भयो कि उनलाई हाजिन पुलिस स्टेशनमा थुनिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *