बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता

डिसी नेपाल
२५ पुष २०७८ ७:३४
116
Shares

काठमाडौं। स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ। १० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो। ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक डेब्यू गरेको खेलमा १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो।

खेलको ५७औं मिनेटमा लुक डि जङले डानी अल्भेसको पास सदुपयोग गर्दै गोल गरे । ७९ मिनेटमा गाभीले दोहोरो पहेँलोसहित रातो कार्ड बेहोर्दा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित भयो।

खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ।

राति नै भएको अर्काे खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमा र भिनिसिउस जुनियरले समान २ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।

खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा भिनिसिउसले २–० बनाए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले पुनः ८८ औं मिनेटमा गोल गर्दै रियलले सिजनको १५ औं जित पायो ।

जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *