५० वर्षदेखि जलिरहेको ‘नर्कको ढोका’ बन्द गर्न सरकारको आदेश

डिसी नेपाल
२५ पुष २०७८ १३:५८

काठमाडौं। तुर्कमेनिस्तानमा विगत ५० वर्षदेखि जलिरहेको नर्कको ढोका बन्द गर्न आदेश दिइएको छ । तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा रहेको यो २२९ फिट फराकिलो र ६६ फिट गहिरो खाल्डो मिथेन ग्यासको चुहावटका कारण लगातार जलिरहेको छ । तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डीमुखामेदोभले अधिकारीहरुलाई आदेश दिँदै यो खाल्डोलाई बन्द गर्नको लागि जे पनि प्रयास गर्न सकिन्छ त्यो तत्काल सुरु गर्न भनेका छन् ।

राष्ट्रपति गुरबांगुलीले यो खाल्डोका कारण भइरहेको पर्यावरणीय क्षति र आर्थिक नोक्सानीको हवाला दिँदै यसलाई बन्द गर्न आदेश दिएका हुन् । नर्कको ढोका भनिने यो खाल्डोलाई दरवाजा ग्यास क्रेटर पनि भनिन्छ । २०१० मा पनि गुरबांगुलीले विज्ञहरुलाई यो खाल्डो भर्न र यसको आगो निभाउन निर्देशन दिएका थिए । यो आगो १९७१ देखि लगातार जलिरहेको छ । यो जलिरहेको नर्कको ढोकाको कहानी निकै रोचक छ ।

तुर्कमेनिस्तानको काराकुम मरुभूमिमा रहेको यो खाल्डोमा विगत ५० वर्षदेखि केवल आगो मात्र देखिँदै आएको छ । यो खाल्डोमा त्यतिबेलादेखि आगो जलिरहेको देखिएको छ जब सोभियत संघका वैज्ञानिकहरुले यहाँ भएको ग्यासबारे जान्नको लागि यहाँ उत्खनन सुरु गरेका थिए । वैज्ञानिकहरुले खन्ने क्रममै खन्ने यन्त्र खाल्डोभित्र खस्यो र त्यसपछि खाल्डोबाट मिथेन ग्यास निस्किन सुरु भयो । वैज्ञानिकहरुले मिथेन ग्यासलाई वातावरणमा फैलिनबाट रोक्नको लागि त्यहाँ आगो लगाइदिए ।

त्यतिबेला आगो लगाइएदेखि अहिलेसम्म यो खाल्डोमा आगो दन्किरहेको छ । यो खाल्डोलाई नर्कको ढोका पनि भनिन्छ । पछिल्ला केही वर्षयता यसलाई पर्यटनको केन्द्रको रुपमा पनि लिन थालिएको छ । यहाँ मानिसहरु दशकौंदेखि जलिरहेको खाल्डो हेर्न जान्छन् । राष्ट्रपति गुरबांगुलीले मानिसको गलत हर्कतका कारण बनेको यो खाल्डोले वातावरण र मानव स्वास्थ्यमा खराब प्रभाव पारिरहेको बताए ।

यो खाल्डो पुर्न र आगो निभाउन यसअघि पनि प्रयास नभएको होइन तर अहिलेसम्म कोही सफल भएको छैन । नर्कको ढोका भनिने यो खाल्डोको छवि सुधार्न राष्ट्रपति गुरबांगुलीले २०१८ मा यसको नाम बदलेर शाइनिङ अफ काराकुम नाम राखिदिएका थिए तर यसबाट कुनै फाइदा भएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *