काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना
काबुल। तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ। तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ। बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ।
१५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन्। ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुर्नःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताए।
शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनकाे भनाई छ । ‘नियम पालना नगर्नेमाथि कारबाही हुनेछैन्,’ मुजहिरले भने। काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपी केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोसाकमा सजिएका भेटिन्छन् । राजधानीबाहिरका सहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ ।
पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् । ‘उनीहरुले मानिसहरुमा त्रास बढाउन खोजेका छन्,’ विश्वविद्यालयकी एक विद्यार्थी तथा महिला अधिकार अभियन्ता भन्छिन् ।
सुुरुमा पोस्टर देख्दा आफू डराएको बताउँदै उनले भनिन्, ‘उनीहरुले मलाई बुर्का लगाउन भनेका छन् । उनीहरुले भनेको मैले कहिल्यै मान्दिन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment