एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत

डिसी नेपाल
२५ पुष २०७८ १५:१६

गोरखा। नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन गरेको छ। शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन्।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो। ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट सात जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएका हुन्,’ निर्वाचन अधिकृत रमेश अधिकारीले भने।

पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन्। दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो।

यस्तै, पुरुष खुला सदस्यमा २० सिटमध्ये २९ जनाको उम्मेदवारी परेको छ भने उत्पिडितमा तीन सिटमध्ये १३ जनाको उम्मेदवारी परेको छ। यस्तै, जनजाति पुरुषमा पाँच सिटमध्ये १० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

‘सिटभन्दा बढीको उम्मेदवारी परेपछि उपसचिव, पुरुष खुला, उत्पिडित, जनजातितर्फ निर्वाचन भइरहेको छ,’ अधिकृत अधिकारीले भने । सर्वसहमत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबार बिहान १०ः१५ बजेबाट मतदान सुरू भएको छ। बिहान साढे ७ बजेदेखि मतदान भनि पनि समयमै सुरु हुन सकेको थिएन ।

अधिवेशनमा पाँच सय ९८ जना प्रतिनिधिले मतदान गर्ने छन् । अहिलेसम्म करिब तीन सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले जानकारी दिइन । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *