तालिबानको कब्जापछि भागदौडमा काबुल विमानस्थलमा हराएका दुधे बालक महिनौंपछि यसरी भेटिए
काठमाडौं। अफगानिस्तानमा तालिबानको कब्जापछि गएको अगष्ट महिनामा मच्चिएको कोलाहलका बीच धेरै मानिसहरु देश छोडेर जाँदै थिए । तालिबान काबुल पुगिसकेका थिए र मानिसहरु आत्तिएर काबुल विमानस्थलतर्फ भाग्दै थिए । यहाँ भागदौड र अस्तव्यस्तता थियो । यही भीडमा एक दुधे बालक मातापिताबाट बिछोडिए । यो कहानी उनै बालकको हो ।
त्यो १९ अगष्टको दिन थियो । काबुलको हमिद कारजाइ विमानस्थलमा हजारौं मानिस जम्मा भएका थिए र अत्याधिक भिड थियो । अमेरिका र अन्य देशका विमानले मानिसहरुलाई बाहिर निकालिरहेका थिए । खासगरी यस्ता मानिसलाई निकालिँदै थियो जो पछिल्लो सरकारको लागि काम गर्थे र जसलाई तालिबान शासनबाट खतरा हुन सक्थ्यो ।
भिडमा परिवारसँग मिर्जा अली अहमदी पनि थिए जो अमेरिकी दुतावासमा सुरक्षा गार्डको काम गर्थे । समाचार एजेन्सी रोयटर्सले पहिलो पटक उनीहरुको कहानी नोभेम्बरमा प्रकाशित गरेको थियो । त्यतिबेला मिर्जाले बताएअनुसार उनी आफ्नी पत्नी सुरैया र पाँच बच्चाहरु लिएर विमानस्थलभित्र जाने कोसिस गरिरहेका थिए । २ महिनाका बच्चा सोहेल काखमा थिए ।
एक अर्कासँग ठोक्किँदै भित्र जाने क्रममा साना बालक किचिन सक्छन् भनेर उनीहरुले सोहेललाई बारको अर्कोपट्टि उभिएका एक सैनिकलाई दिए । उनीहरुलाई ती अमेरिकी सैनिक भन्ने लागेको थियो । उनीहरुलाई अब १५ फिट मात्रै दूरी बाँकी छ जब एयरपोर्ट भित्र पुगिन्छ त्यसपछि बच्चा पाइन्छ भन्ने लागेको थियो । तर त्यही बेला तालिबानका तालिबान सैनिकले भिडलाई पछाडि लखेटे । मिर्जा र उनको परिवारलाई त्यहाँ फर्किन आधा घण्टा लाग्यो ।

उनीहरु एयरपोर्ट भित्र गए तर न त्यहाँ ती सैनिक देखिए न उनीहरुको बच्चा । आत्तिएको परिवारले उनलाई चारैतिर खोजे । केही अधिकारीहरुलाई बच्चालाई विमानमा लगिएको हुन सक्ने आशंका गरे । अधिकारीहरुले बच्चालाई विमानमा लगिएको हुन सक्ने भन्दै उनीहरुलाई विमानमा जान भने र पछि बच्चा भेटिने बताए । अन्ततः मिर्जा र उनको परिवार अमेरिका जाने विमानमा चढे र अमेरिकाको टेक्सासको एक सैन्य अड्डामा पुगे । महिनौंसम्म उनीहरुलाई थाहा भएन कि सोहेललाई के भयो ।

४ महिनापछि नोभेम्बरमा समाचार एजेन्सी रोयटर्सले यो समाचार प्रकाशित गर्यो त्यसपछि खोजी सुरु भयो । अन्ततः थाहा भयो कि सोहेल एक ट्याक्सी ड्राइभर हामिद सैफीको घरमा छन् । २९ वर्षीय हामिदले रोयटर्ससँग कुरा गर्दै उनले सोहेललाई एयरपोर्टमा भेटेको बताए जहाँ उनी जमिनमा त्यत्तिकै फलिएका थिए र रोइरहेका थिए । हामिदले बालकका परिवारलाई खोज्ने कोसिस गरे तर केही थाहा नभएपछि उनले बालकलाई घर लैजाने निर्णय गरे । उनी र उनकी पत्नीले सोहेललाई आफ्नै छोराजस्तै हुर्काउने निर्णय गरे ।

उनीहरुले बालकको नाम राखे – मोहम्मद आबिद । अनि आफ्ना अरु छोराछोरीहरुको साथमा उनको तस्वीर आफ्नो फेसबुकमा पोस्ट गरे । ४ महिनापछि सोहेलबारे थाहा भयो र उनका हजुरबुवा (आमातर्फका) मोहम्मद कासिम रजावी उनलाई लिन हिँडे । उनी काबुलबाट धेरै टाढा उत्तर पूर्वी अफगानिस्तानको बदख्शांमा बस्छन् । तर, लामो यात्रा गरेर जब उनी हामिदकहाँ पुगे, हामीदले सोहेललाई फिर्ता दिन अस्वीकार गरे । रोयटर्सका अनुसार हामिदले शर्त राखिदिए कि उनी र उनको परिवारलाई पनि अमेरिका लगियोस् ।

कुरा यतिसम्म बढ्यो कि केही समयसम्म हामिद सैफीलाई हिरासतमा पनि लिनु पर्यो । अन्ततः तालिबान पुलिसले कैयौं हप्तासम्म चलेको छलफलपछि दुवै परिवारमा सम्झौता गरायो र सोहेललाई उनका हजुरबुवालाई सुम्पियो । सोहेलका मातापिता अमेरिकामै छन् । उनीहरुले आफ्नो सानो छोरालाई भिडियो च्याटमा देखे । मोहम्मद कासिम रजावीले भने ‘हामी खुसी मनाउन थाल्यौं, गाउन थाल्यौं, नाच्न थाल्यौं, यस्तो लाग्यो मानौं कसैको बिहे भइरहेको छ ।’

अब सोहेलको परिवारलाई आशा छ कि छिटै उनलाई अमेरिकाको मिशिगन लैजाने व्यवस्था हुनेछ जहाँ उनीहरु अहिले बस्छन् । यद्यपि अफगानिस्तानमा अहिलेसम्म सबै अनिश्चित छ । त्यहाँ अमेरिकाको कुनै दुतावास छैन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुमाथि पनि निकै दबाब छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले रोयटर्ससँग भने ‘हामी कोसिस गरिरहेका छौं कि कसरी यो परिवारलाई फेरि एक गराउने ।’







डिसी नेपाल







Facebook Comment