ओमिक्रोन : अमेरिकामा कोरोनाभाइरस फैलिन सुरु भएयताका सबै रेकर्ड तोडिए

डिसी नेपाल
२७ पुष २०७८ ११:१७
396
Shares

काठमाडौं। ओमिक्रोन भेरिएन्टको फैलिँदो संक्रमणका बीच अमेरिकामा बिरामीहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड वृद्धि भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १ लाख ३२ हजार ६४६ जना अस्पतालमा भर्ना भएका छन् । जबकि गत वर्ष जनवरीमा यो संख्या १ लाख ३२ हजार ५१ मात्र थियो ।

यस्तै अमेरिकामा सोमबार कम्तीमा ११ लाख ३० हजार नयाँ संक्रमणका केस रिपोर्ट गरिएको आफ्नो तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सले नै अर्को एक रिपोर्टमा जनाएको छ । रिपोर्टका अनुसार यो संख्या अहिलेसम्म कुनै पनि देशमा एक दिनमा रेकर्ड गरिएको सबैभन्दा धेरै संख्या हो । यसअघि अमेरिकामा सबैभन्दा धेरै संक्रमणको रेकर्ड जनवरी ३ मा बनेको थियो । यो दिन १० लाख ३० हजार नयाँ केस रिपोर्ट गरिएका थिए ।

डिसेम्बर महिनादेखि नै बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम जारी छ । डेल्टा भेरिएन्टपछि जब ओमिक्रोन भेरिएन्ट आएको छ त्यसपछि पछिल्ला तीन हप्ता यता अस्पताल भर्ना हुने बिरामीको संख्या दुई गुण भएको छ । रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरिल्याण्ड, मिसौरी, ओहियो, पेन्सलभेनिया, पोर्तो रिको, भर्जिनिया, वाशिङटन डिसी र भिस्कन्सिनमा रेकर्ड रुपले कोभिड १९ का बिरामी अस्पताल भर्ना भएका छन् ।

सम्भावित रुपले कम गम्भीर भनिएको ओमिक्रोन भेरिएन्टका विषयमा स्वास्थ्य अधिकारहिरुले यसअघि नै चेतावनी दिँदै यदि यो भेरिएन्टबाट संक्रमण बढ्यो भने अस्पतालको प्रणालीमा दबाब बढ्ने बताइसकेका छन् । अस्पतालहरुले स्टाफको कमीका कारण पहिले नै अन्य सर्जरी र अपरेशनलाई स्थगित गरिसकेका छन् । रोयटर्सका अनुसार अमेरिकामा पछिल्लो २ हप्तामा नयाँ संक्रमणका केस ३ गुणाले बढेर दैनिक केस संख्या औसतमा ७ लाख पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *