तालिबानले छिमेकीलाई धम्की दिँदै भन्यो ‘हामी कमजोर छौं, डरपोक छैनौं, हाम्रा विमान फिर्ता गर’

डिसी नेपाल
२८ पुष २०७८ ११:३३
8.5k
Shares

काठमाडौं। तालिबानका कार्यकारी रक्षा मन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदले ताजिकिस्तान र उज्वेकिस्तानसँग अफगान विमान र हेलिकप्टरहरु फिर्ता गर्न भनेका छन् । उनले यस्तो नगरे तालिबानले कारवाही गर्ने चेतावनी दिएका छन् । काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले पछिल्लो सरकार सत्ताबाट हटेपछि जो विमान छिमेकी देशहरुमा लगिएका छन् ती अफगानिस्तानका सम्पत्ति भएको बताउँदै छिटै ती सबै अफगानिस्तानलाई फिर्ता गरिनुपर्ने बताए ।

उनले भने ‘हामी आफ्ना छिमेकीहरुको तुलनामा कमजोर हुन सक्छौं तर हामी डरपोक छैनौं र हामीले हाम्रा विमान र हेलिकप्टरहरुका हरेक पुर्जा फिर्ता लिएरै छाड्नेछौं । म उनीहरुसँग आग्रह गर्न चाहन्छु कि उनीहरु हाम्रो धैर्यको परीक्षा नलिउन् र हाम्रा विमान र हेलिकप्टर हामीलाई फिर्ता दिउन् ।’ मोहम्मद याकुब मुजाहिदले देश छोडेर नजाने अफगान वायु सेनाका पाइलट र इन्जिनियरहरुलाई धन्यवाद दिए र गत महिना देश छोडेर गएकाहरुलाई फर्किन अपिल गरे ।

टोलो न्यूजमा प्रकाशित एक रिपोर्टका अनुसार अफगान रक्षा मन्त्रालयले गत वर्ष अगष्टमा तालिबान सत्तामा आएपछि ४० भन्दा धेरै हेलिकप्टर छिमेकी देश ताजिकिस्तान र उज्वेकिस्तान लगिएको बताएको छ । अहिलेसम्म ताजिकिस्तान र उज्वेकिस्तानका अधिकारीहरुले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानले आफ्ना छिमेकीहरुप्रति यति कठोर भाषा र चेतावनीको प्रयोग गरेको यो पहिलो पटक हो । पछिल्लो समय तालिबानको पाकिस्तानसँग जोडिएको डुरंड रेखा, तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामा तनाव बढेको छ । तालिबानले यसलाई कूटनैतिक रुपमा सुल्झाइने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *