स्वर्ण पदक पाएको मुसाको मृत्यु

डिसी नेपाल
२८ पुष २०७८ १७:५०
176
Shares

बीबीसी । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षको उमेरमा मृत्यु भएको छ।

पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा १०० भन्दा बढी ल्याण्डमाइन अर्थात जमिनमुनि बिछ्याइएको विस्फोटक र अन्य विस्फोटक पदार्थ पत्ता लगाएको थियो।

बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा सफल मुसा थियो। अपोपोले ‘अफ्रिकन जायन्ट पाउच’ प्राजातिको सो मुसाको गत सप्ताहान्तमा मृत्यु भएको जनाएको हो।

मागावाको स्वास्थ्य अवस्था राम्रो रहेको र गत साता सामान्य रूपमा खेलेर बसेको बताइएको छ। तर सप्ताहान्तमा कम सक्रिय भएको, धेरै सुतेको र खानेकुरामा अरुचि देखाएको अपोपोले जनाएको छ।

तान्जानियामा जन्मिएको मोगावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो। क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका विस्फोटक पदार्थहरू रहेका मानिन्छ।

विस्फोटक पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदान जति वा १५ लाख १७ हजार ७११ वर्ग फिट जमिनलाई सफा गर्न सघाएको थियो।

एक किलो २०० ग्राम तौल र २८ इन्च लामो मागावा अन्य प्रजातिको मुसाको तुलनामा ठूलो भए पनि विस्फोटक पदार्थमाथि पर्दा पनि विस्फोटन नगराउने तौलको थियो।

मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने अपोपोले बताएको छ।

सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो। अपोपोले ७७ वर्षको इतिहासमा मुसालाई यो पदक दिएको पहिलो पटक थियो।

मगावाले गत जुनदेखि वृद्ध उमेरका कारण काम गर्न छोडेको थियो। अपोपोले हिरोर्‍याट भनिने यस्ता मुसालाई सन् १९९० को दशकदेखि नै तालिम दिन थालेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *