कश्मिर मुद्दामा पाकिस्तानको यु–टर्न, भारतसँग डराएको हो वा अरु नै छ रणनीति ?

डिसी नेपाल
२९ पुष २०७८ १६:०९
2.8k
Shares

काठमाडौं। पाकिस्तानले पहिलो पटक राष्ट्रिय सुरक्षा नीति तयार गरेको छ । पाकिस्तानीस प्रधानमन्त्री इमरान खानले यो नीति शुक्रबार जारी गर्न सक्ने बताइएको छ । पाकिस्तानको यो राष्ट्रिय सुरक्षा नीतिमा भारतसँग शान्तिको कुरालाई जोड दिइएको छ । पाकिस्तानी मिडियामा प्रकाशित रिपोर्टअनुसार पाकिस्तानले आफ्नो राष्ट्रिय सुरक्षा नीतिमा आर्थिक सुरक्षालाई सबैभन्दा धेरै महत्व दिएको छ ।

पाकिस्तानको प्रमुख अंग्रेजी अखबार एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार २०२२ देखि २०२६ सम्मको लागि नीति दस्तावेज तयार गरिएको छ । रिपोर्टका अनुसार यो दस्तावेजमा कश्मिरमा अन्तिम समाधानबिना नै भारतसँग द्विपक्षीय व्यापार र लगानी बढाउने कुरा उल्लेख छ । पाकिस्तानी मिडियाका अनुसार यो दस्तावेजमा भएका केही कुराहरु मात्रै सार्वजनिक भएका छन् जबकि मुख्य दस्तावेजलाई सार्वजनिक गरिएको छैन ।

एक्सप्रेस ट्रिब्युनका अनुसार पत्रकारहरुसँग सरकारका एक अधिकारीले नीति दस्तावेजको बारेमा बताउँदै यो १०० पानाको भएको बताए । ती अधिकारीले भने ‘हामी आगामी १०० वर्षसम्म भारतसँग दुश्मनी चाहँदैनौं नयाँ नीतिमा भारतसँग शान्तिको कुरा गरिएको छ । भारतसँग द्विपक्षीय व्यापार सुरु गर्ने कुराको वकालत गरिएको छ ।’ भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो पटक ५ अगष्ट २०१९ मा बिग्रिन सुरु भएको थियो । त्यही दिन भारतको मोदी सरकारले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेको थियो ।

यसको जवाफमा पाकिस्तानले भारतसँग कुटनैतिक सम्बन्ध कम गरेको थियो र द्विपक्षीय व्यापारलाई निलम्बन गरेको थियो । गत वर्ष फेब्रुअरीमा दुवै देशले नियन्त्रण रेखा अर्थात एलओसीमा युद्धबिराम घोषणा गरेका थिए । यससँगै दुवै देश तनाव कम गर्न इच्छुक छन् भन्ने आशा बढेको थियो ।

एक्सप्रेस ट्रिब्युनले लेखेको छ ‘नयाँ राष्ट्रिय सुरक्षा नीतिमा पाकिस्तान जियो स्ट्राटेजिकबाट जियो इकोनोमिक्सतर्फ स्थानान्तरित भएको देखिएको छ । एक अधिकारीका अनुसार आर्थिक सुरक्षा पाकिस्तानको राष्ट्रिय सुरक्षाको केन्द्रमा हुनेछ । यसका अलावा पाकिस्तानको विदेश नीतिमा पनि छिमेकी देशसँग आर्थिक सम्बन्ध र शान्ति बढाउनेमा जोड दिइएको छ । तर, जियो इकोनोमिक्समा केन्द्रित हुनुको अर्थ यो होइन कि जियो स्ट्राटेजिक र जियो पोलिटिकल हितहरुको उपेक्षा गरिनेछ । भारतसँग जम्मु कश्मिरको मुद्दा पाकिस्तानको राष्ट्रिय नीतिको अहम मुद्दा हो ।’

पाकिस्तान सरकारका एक अधिकारीले ट्रिब्युनसँग भनेका छन् ‘यसको अर्थ यो होइन कि नयाँ दिल्लीमा नरेन्द्र मोदीको सरकारसँग मित्रता बढाउनु छ । यो नीति दस्तावेजमा बाहिरी र भित्री दुवै सुरक्षाको कुरा गरिएको छ ।’ दुनिया न्यूजका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले यो नीति दस्तावेजका ५० पाना शुक्रबार सार्वजनिक गर्न सक्छन् । नीति दस्तावेजको यो भागलाई गोपनीयताभन्दा अलग बताइएको छ ।

यो नीतिको सरकारले समीक्षा पनि गर्न सक्नेछ । यो महिनाको सुरुवातमै पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले भनेका थिए ‘आर्थिक सुरक्षा देशको राष्ट्रिय सुरक्षामा सबैभन्दा अहम हुनुपर्छ’ मोइदले यो नीति दस्तावेजलाई डिसेम्बर २०२१ मा संघीय मन्त्रिपरिषदले स्वीकृत गरेको बताएका थिए ।

पाकिस्तानका प्रसिद्ध लेखक जाहिद हुसैनले १२ जनवरीमा पाकिस्तानको प्रमुख अखबार डनमा राष्ट्रिय सुरक्षा नीतिका विषयमा एक लेख लेखेका थिए । जाहिद हुसैनले लेखेका छन् ‘यो निकै सकारात्मक प्रगति हो कि सिभिल र सैन्य नेतृत्व देशको सुरक्षालाई फेरि परिभाषित गर्न सहमत छन् । तर, यो मामिलामा राष्ट्रिय स्तरमा आम सहमति बनाउनु आवश्यक छ । यसमा केवल संसदको मन्जुरीले काम चल्दैन, पूरै दस्तावेजमाथि सार्वजनिक रुपमा बहस हुनुपर्छ । यो कुनै सरकारको नीति भन्दा पनि देशको नीति हो । एक कमजोर अर्थव्यवस्था विदेशी सहयोगमा निर्भर रहन्छ र यसबाट देशको सम्प्रभुता सुरक्षित रहन सक्दैन । हामी परमाणु शक्ति सम्पन्न र यस क्षेत्रमा एक सैन्य शक्ति भएको दावी गर्न सक्छौं तर आर्थिक र राजनीतिक मोर्चामा अस्थिरताले हामीलाई असुरक्षित नै राख्नेछ ।’

पाकिस्तानको नयाँ सुरक्षा नीतिमा भारतसँग सम्बन्ध सुधार गर्ने कुराको विरोध पनि भइरहेको छ । भारतमा पाकिस्तानका उच्चायुक्त रहिसकेका अब्दुल बासितले बुधबार ट्वीट गर्दै भनेका छन् ‘कश्मिरमा जारी बर्बरताका बावजुद पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीतिमा भारतसँग वार्ता र व्यापार बहाल गर्ने कुरा गरेको छ । यस विषयमा यतिमात्र भन्न सक्छु कि यो ठूलो गल्ती हुनेछ ।’

यसअघि अब्दुल बासितले युट्युबमा एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनले पाकिस्तानको नयाँ राष्ट्रिय सुरक्षा नीतिबारे कुरा गरेका थिए । अब्दुल बासितले सरकारले विपक्षीसँग यस विषयमा कुरा नगरेकोले विपक्षी सरकारको यो नीति मान्न तयार नभएको बताएका थिए । उनले भनेका थिए ‘विश्वमा यस्तो कुन नीति छ जसलाई लागू गर्ने तरिकाबारे सरकारलाई थाहा छैन । फवाद चौधरीले टिभी डिबेटमा यही भनेका छन् कि अहिले लागू गर्नेबारे थाहा छैन । हामी सबै कुरा बनाउँछौं तर लागू गर्ने बारेमा थाहा हुँदैन ।’

पाकिस्तानको नयाँ राष्ट्रिय सुरक्षा नीतिमा भारतसँग शान्ति र व्यापारिक सम्बन्धलाई अहमियत दिइएको विषयमा पाकिस्तानी विदेश मन्त्रालयका पूर्व प्रवक्ता र अहिले अस्ट्रेलियामा पाकिस्तानका उच्चायुक्त जाहिद हफिज चौधरीले ट्वीट गरेर भनेका छन् ‘पाकिस्तानको विदेश नीतिमा सबै छिमेकी देशहरुसँग शान्तिको चाहना पाकिस्तानमा लामो समयदेखि भइरहेको कुरा हो । तर, दक्षिण एसियामा स्थायी शान्ति लामो समयदेखि चलिआएका विवादमा निर्भर गर्छ ।’

पाकिस्तानका अवकाशप्राप्त एयर भाइस मार्शल इकरामुल्लाह भट्टीले पिटिभीसँग भनेका छन् ‘यो धेरै व्यापक दस्तावेज हो । र यो मुद्दाहरुलाई समाधान दिनेवाला छ । नीतिगत स्तरमा ठूला र क्रान्तिकारी परिवर्तन आउन गइरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *