मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गर्दा जेल सजाय पाएका डाक्टर धनीराम

डिसी नेपाल
२९ पुष २०७८ १६:५६
65.1k
Shares

काठमाडौं । ‘मैले २५ वर्ष पहिले मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेको थिएँ । त्यतिबेला आफ्नो शोधको आधारमा मैले संसारलाई बताएको थिएँ कि सुँगुरको प्रत्येक अंग मानिसको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । तर मलाई कसैले साथ दिएनन् र यहाँको सरकारले मलाई जेल हाल्यो । अब यति लामो समयपछि अमेरिकी चिकित्सकले गरेको सुँगुरको मुटु प्रत्यारोपणलाई विश्वले एक सफल प्रयोगको रुपमा हेरिरहेको छ । जबकि यही शोध र प्रयोग सबैभन्दा पहिले मैले गरेको थिएँ’ – ७१ वर्षका ट्रान्सप्लान्ट सर्जन डा. धनीराम बरुआ यसो भन्दै रिसमा जोड जोडले टेबल ठोक्छन् र चिच्याउन थाल्छन् ।

२०१६ मा भएको ब्रेन स्ट्रोकपछि डा. धनीराम स्पष्ट बोल्न सक्दैनन् । उनको साथमा वर्षौं काम गरेकी डालिमी बरुआ उनको अस्पष्ट बोली बुझ्छिन् र उनी यो रिसको कारण उनको शोधका विषयमा भएको अत्याचार बताउँछिन् । खासमा हालै अमेरिकी चिकित्सकहरुको टिमले आनुवंशिक रुपले परिवर्तित सुँगुरको मुटु प्रत्यारोपण गरेका छन् । सर्जरीको इतिहासमा पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुले यस किसिमको सर्जरी विश्वमै पहिलो पटक भएको बताएका छन् र सुँगुरको मुटु प्रत्यारोपण गरिएका बिरामी ५७ वर्षका डेभिड बेनेट स्वस्थ हुँदै गइरहेको दावी गरेका छन् । अमेरिकी चिकित्सकको पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपणको यो दावीका बारेमा सोध्नासाय डा. धनीराम रिसाउँछन् । तर, अर्को पल खुसी व्यक्त गर्दै भन्छन् कि आखिर चिकित्सा विज्ञानका मानिसहरुले २५ वर्षपछि यो स्वीकार गरे कि मानिसको शरीरमा सुँगुरका अंग प्रत्यारोपण गर्न सकिन्छ ।

भारतको असमको सोनापुरस्थित डा. धनीराम बरुआ हर्ट सिटी एण्ड सिटी अफ ह्युमन जिनोम नामक एक मेडिकल इन्स्टिच्युट चलाउने डा. धनीरामका अनुसार अमेरिकी चिकित्सकले गरेको आनुवंशिक रुपले परिवर्तित सुँगुरको मुटु प्रत्यारोपण कुनै नयाँ कुरा होइन । उनको दावीअनुसार उनले वर्षौं पहिले आफ्नो शोधको आधारमा सुँगुरको मुटु प्रत्यारोपणका लागि जुन प्रविधिको प्रयोग गरेका थिए त्यही प्रविधिका आधारमा अमेरिकी चिकित्सकले यो सफलता पाएका हुन् ।

मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपणबारे बीबीसीसँग कुरा गर्दै डा. धनीरामले भने ‘मैले १ जनवरी १९९७ मा पहिलो पटक ३२ वर्षका एक व्यक्तिको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेको थिएँ यो सर्जरीभन्दा पहिले १०० भन्दा धेरै शोध गरेको थिएँ र सुनिश्चित गरेको थिएँ कि मानव शरीर सुँगुरका कैयौं अंगलाई स्वीकार गर्छ । यो एक सफल सर्जरीकै नतिजा थियो कि ती बिरामी मुटु प्रत्यारोपणपछि ७ दिनसम्म जीवित थिए । तर बिरामीलाई एकाधिक संक्रमण भएका कारण उनको ज्यान गयो । खासमा बिरामीको मुटुको तल्लो कक्षामा प्वाल थियो जसलाई भेन्ट्रिकुलर सेप्टल डिफेक्ट भनिन्छ । यही कारण बिरामीमा कैयौं किसिमका संक्रमण फैलिएका थिए ।’

डा. धनीरामले यो सर्जरी सोनापुरस्थित आफ्नो हर्ट इन्स्टिच्युटमा हङकङका एक सर्जन डा. जोनाथन हो के शिंगसँग मिलेर गरेका थिए । करिब १५ घण्टाको यो सर्जरीमा डा बरुआले ती बिरामीमा सुँगुरको मुटु र फोक्सो प्रत्यारोपण गरेका थिए । तर, बिरामीको मृत्युपछि यो प्रत्यारोपणका कारण ठूलो विवाद भयो । स्थानीय मिडियामा यो खबर फैलिएपछि दुवै डाक्टरलाई नियत बिना हत्या र मानव अंग प्रत्यारोपण अधिनियम १९९४ अन्तर्गत गिरफ्तार गरियो ।

स्कटल्याण्डको ग्लासगोमा रोयल कलेजबाट कार्डियो सर्जरी अध्ययन गरेका डा. धनीराम त्यो घटनालाई सम्झिँदै भन्छन् ‘आज पूरै विश्वमा सुँगुरको मुटु प्रत्यारोपणको कुरा भइरहेको छ तर मलाई त्यतिबेला जेलमा हालियो । मेरो इन्स्टिच्युटमा तोडफोड गरियो । म ४० दिन जेलमा बस्नु पर्यो । सरकार वा चिकित्सा क्षेत्रमा काम गर्ने कसैले पनि मेरो मद्दत गरेनन् । आज पनि ममाथि त्यो मुद्दद्दा चलिरहेको छ ।’

एक प्रश्नको जवाफ दिँदै डा. धनीराम भन्छन् ‘मैले ग्लासगोमा कार्डियो सर्जरी गरेपछि बेलायत, अबु धाबी समेत कैयौं देशमा काम गरें । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भनेपछि म आफ्नो देशमा फर्केर आएको थिएँ । तर त्यतिबेला यहाँको सरकारले मसँग धेरै नराम्रो गर्यो । जेलबाट बाहिर आएपछि पनि मैले आफ्नो शोध जारी राखें । अहिलेसम्म मैले २३ यस्ता औषधि आविष्कार गरेको छु जसबाट मुटु, एचआइभी, मधुमेह जस्ता रोगको उपचार भइरहेको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *