अमेरिकामा यहुदी पुजास्थलमा मानिसहरु बन्धक, आफिया सिद्दीकीलाई छुटाउन खोजिएको आशंका
काठमाडौं। अमेरिकाको टेक्सास राज्यको कोलिभिले सहरमा यहुदीहरुको पुजास्थल सिनागोगमा मानिसहरुलाई बन्धक बनाइएको घटनामा सबै बन्धकहरुलाई जीवित र सुरक्षित उद्धार गरिएको टेक्सासका गभर्नरले बताएका छन् । गभर्नर ग्रेग एबोटले त्यहाँ बाट ठूलो विष्फोट र गोली चलेको आवाज सुनिएको करिब २० मिनेटपछि ट्वीट गर्दै सबै बनधकहरु सुरक्षित रहेको बताएको सीएनएनले जनाएको छ । आरोपीको अवस्था भने अझै अज्ञात छ ।
आइतबार बिहानको प्रार्थना फेसबुकमा लाइभ प्रसारण भइरहेका बेला यो घटना भएको हो । यो लाइभस्ट्रिममा घटनाको केही अंश पनि प्रसारण भएको थियो तर पति त्यो लाइभस्ट्रिमलाई अनलाइनबाट हटाइयो । सुरक्षा अधिकारीहरुले सीएनएनसँग कुरा गर्दै आरोपीले आफिया सिद्दीकीलाई रिहा गराउनको लागि यस्तो गरेको हुन सक्ने आशंका गरिएको छ । आफियाले टेक्सासकै एक जेलमा ८६ वर्षको जेल सजाय काटिरहेकी छिन् ।
आफियालाई अफगनिस्तानमा अमेरिकी अधिकारीहरुको हत्या प्रयास, हिंसा लगायतका ७ वटा अभियोगमा २०१० मा दोषी ठहर गरेर सजाय सुनाइएको थियो । अधिकारीहरुका अनुसार बन्धक बनाइएका व्यक्तिहरु ४ जना हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरुका अनुसार लाइभस्ट्रिममा सुनिएको अडियो र आरोपीसँग पुलिसले गरेको कुराकानीका आधारमा आरोपीले सिद्दीकीलाई रिहा गराउन चाहेको अनुमान गरिएको छ ।
सिद्दीकीको प्रतिनिधित्व गर्ने वकिलले भने यस विषयमा सिद्दीकीको कुनै संलग्नता छैन । उनका अनुसार शंकास्पद आरोपी सिद्दीकीका भाइ पनि होइनन् । सिद्दीकीकी वकिल मार्वा एल्बियालीले सीएनएनसँग टेलिफोनमा कुरा गर्दै सिद्दीकीले आफ्नो नाममा कुनै मानवीय हिंसा नचाहेको बताइन् । उनका अनुसार डा. सिद्दीकीले यी शंकास्पद आरोपीको हर्कतको निन्दा समेत गरेकी छिन् र यो घटनामा आफू र आफ्नो परिवारको कुनै लेनदेन नभएको बताएकी छिन् ।
२०१० मा सिद्दीकीलाई न्यूयोर्कको एक संघीय अदालतले ८६ वर्षको जेल सजाय सुनाएको थियो । उनलाई अफगानिस्तानमा अमेरिकी अधिकारी र कर्मचारीहरुको हत्या प्रयासमा दोषी ठहर गरिएको थियो । सिद्दीकी पाकिस्तानी वैज्ञानिक हुन् । उनले अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्रयाजुएसन गरेपछि ब्रान्डेइस युनिभर्सिटीबाट विद्यावारिधी गरेकी थिइन् । उनलाई २००८ मा अफगानिस्तानमा हिरासतमा लिइएको थियो ।







डिसी नेपाल







Facebook Comment