तुत्सी नरसंहारको सही प्रक्षेपण गरेका विज्ञले गरे भारतमा छिटै मुस्लिम नरसंहार हुने प्रक्षेपण
काठमाडौं। छिटै भारतमा मुस्लिमहरुको नरसंहार हुन सक्छ । १४९४ मा रुवान्डामा भएको तुत्सी समुदायको नरसंहारबारे घटना हुनुभन्दा कैयौं वर्ष पहिल्यै सही पूर्वानुमान गरेका एक विशेषज्ञले भारतबारे यस्तो प्रक्षेपण गरेका हुन् । जेनोसाइड वाच नामको नरसंहारसम्बन्धी पूर्वानुमान, पूर्वसावधानी, रोकथाम र कानुनी उपचारका लागि काम गर्ने गैर सरकारी संस्थाका संस्थापक तथा निर्देशक ग्रेगोरी स्टेन्टोनले अमेरिकी संसदीय ब्रिफिङका क्रममा भारतको असम राज्य र भारत प्रशासित कश्मीरमा नरसंहारको पूर्वसंकेत र प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
‘भारतको केही समयमै नरसंहार हुन सक्छ भन्ने खतराका चिन्हहरु देखिइसकेका छन्’ उनले अमेरिकी संसदीय ब्रिफिङमा आफ्नो संस्थाको तर्फबाट बोल्दै भने । स्टेन्टोनले नरसंहार एउटा घटना नभइ प्रक्रिया भएको बताउँदै हालका दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएका नीतिहरु र २०१७ मा म्यानमारको सरकारले अल्पसंख्यक रोहिंग्या समुदायविरुद्ध लिएको नीतिबीच समानान्तर सम्बन्ध रहेको विश्लेषण गरे ।
उनले उल्लेख गरेका भारतीय प्रधानमन्त्रीका नीतिहरुमध्ये एउटा २०१९ मा भारत प्रशासित कश्मिरलाई विशेष दर्जा दिने संवैधानिक व्यवस्थाको खारेजी थिए । मोदीको यो कदमले कश्मिरले ७ दशकदेखि पाउँदै आएको विशेष दर्जा गुमाएको थियो । त्यही वर्ष मोदीले नागरिकता संशोधन ऐन ल्याए जसले भारतमा अरु सबै धार्मिक अल्पसंख्यकले नागरिकता पाउने बाटो खुल्यो तर यसमा मुस्लिमहरुलाई बाहेक गरियो ।
भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीमा नरसंहार अध्ययन र रोकथाम विषयका पूर्व लेक्चरर समेत रहेका स्टेन्टोनले म्यानमारमा जस्तै घटनाक्रमहरु हुन सक्ने डर व्यक्त गरे । म्यानमारमा पहिले अल्पसंख्यक रोहिंग्यालाई अनागरिक घोषित गरिएको थियो । त्यसपछि उनीहरुलाई हिंसा र नरसंहारको माध्यमबाट देशनिकाला गरिएको थियो । ‘हामीले भारतमा अहिले जे देखिरहेका छौं यो उस्तै खालको छ’ उनले भने । हिन्दूत्ववादी विचारधारा भारतको इतिहास र भारतीय संविधान विपरित भएको बताउँदै उनले भारतीय प्रधानमन्त्री मोदीलाई ‘सत्ता कब्जा गर्ने अतिवादी’को रुपमा चित्रण गरे ।
सन् १९८९ मा स्टेन्टोनले आफूले तत्कालीन रुवान्डाका राष्ट्रपति जुभेनल हब्यारीमानालाई ‘यदि तपाइँले नरसंहार हुन नदिनका लागि केही गर्नुभएन भने यहाँ ५ वर्षभित्र नरसंहार हुनेछ’ भनेर चेतावनी दिएको बताएका थिए । नभन्दै उनको चेतावनी अनुसार नै १९९४ मा तुत्सी समुदायको नरसंहार भयो जसमा धेरैजसो तुत्सी र बाँकी अन्य समुदायका गरी ८ लाख रुवान्डाली नागरिक मारिएका थिए । ‘हामीले भारतमा त्यो हुन दिन सक्दैनौं’ स्टेन्टोनले भने ।
जेनोसाइड वाचले भारतमा नरसंहारको चेतावनी दिन २००२ मा सुरु गरेको थियो जतिबेला भारतको गुजरातमा भएको साम्प्रदायिक दंगामा १ हजारभन्दा धेरै मुस्लिम मारिएका थिए । यहाँनिर ध्यान दिनुपर्ने कुरा के हो भने गुजरातमा त्यो नरसंहार भएका बेला नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । घटनाका बेला उनी मुख्यमन्त्री भएको केवल साढे ४ महिना मात्र भएको थियो । त्यसपछि २०१४ सम्म लगातार गुजरातका मुख्यमन्त्री रहेका मोदी भारतका प्रधानमन्त्रीमा रुपान्तरित भएका थिए । त्यसयता अहिलेसम्म मोदी भारतका प्रधानमन्त्री छन् ।
एम्नेस्टी इन्टरनेशनल भारतका पूर्व प्रमुख तथा बैंगलोरका अधिकारकर्मी र लेखक आकार पटेलले अल जजीरासँग कुरा गर्दै पछिल्ला रिपोर्टहरुलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताए । ‘मलाई लाग्छ भारतको साम्प्रदायिक हिंसाको इतिहास र रेकर्डका अनुसार यहाँ कि त राज्यले यस्तो केही गर्छ जसले हिंसालाई भड्काउँछ वा राज्यले हिंसा रोक्न पर्याप्त केही गर्दैन’ उनले भने । उनले भारत सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै देशमा मुस्लिमविरुद्ध डरलाग्दा टिप्पणी गरिँदा सरकार केही नबोल्नु खतरनाक रहेको बताए ।
पटेलले हालै हिन्दू समूहहरुले मुस्लिमहरुको नरसंहार गर्न आह्वान गरेका घटनाबारे उल्लेख गर्दै यस विषयमा सरकार केही नबोल्नु गम्भीर रहेको बताए । हालै केही हिन्दू समूहहरुले धर्म संसद नाम दिएर विभिन्न ठाउँमा धार्मिक सभाहरु आयोजना गरेका थिए जहाँ कथित धर्मगुरुहरुले मुस्लिमको नरसंहार गर्न आह्वान गरेका थिए । भारतका पूर्व सूचना आयुक्त तथा दिल्लीका शिक्षाविद एमएम अन्सारीले पनि भारतका विषयमा व्यक्त गरिएको यो त्रास एकदमै सही रहेको बताए ।
गएको नोभेम्बरमा हिन्दु कट्टरपन्थीहरुले भारतका विदेशमन्त्री समेत रहिसकेका सलमान खुर्शिदको घरमा आगो लगाए । खुर्शिदले केही दिनअघि मोदीको संसक्षणमा फैलाइएको हिन्दू राष्ट्रवाद इस्लामिक स्टेटको जस्तो भनेका थिए जसका कारण हिन्दू ‘अतिवादी’हरु उनको घरमै आगो लगाउन पुगे । गत महिना मात्र भारतको उत्तराखण्डमा गरिएको धर्म संसद नामको कार्यक्रमम हिन्दू धार्मिक नेताहरुले मुस्लिमविरुद्ध हतियार उठाउन र नरसंहार गर्न आह्वान गरेका भिडियो भाइरल भएपछि सर्वोच्च अदालतले यस विषयमा जाँच गर्न आदेश दिइसकेको छ ।
‘बीजेपीको नेतृत्वमा भारत मुस्लिम र क्रिस्चियनहरुको लागि विश्वमै सबैभन्दा खतरनाक देशहरुमध्ये एक बनेको छ । उनीहरुलाई भौतिक, मनोवैज्ञानिक र आर्थिक रुपमा उत्पीडन गरिएको छ’ अभियन्ता अपूर्वानन्दले अल जजीराको लागि लेखिएको एक लेखमा उल्लेख गरेका छन् ‘उनीहरुका धार्मिक प्रक्रियाहरु, खानपान र व्यवसाय समेतलाई अपराध ठहर गर्ने गरी कानुन पारित भइरहेका छन् ।’
भारतको सत्ताधारी पार्टी भाजपाका एक प्रवक्ता सैयद जाफर इस्लामले भने जेनोसाइड वाचको रिपोर्ट गलत भएको बताउँदै यो रिपोर्टले देखाउन खोजेको जस्तो अवस्था भारतमा नभएको दावी गरेका छन् । ‘पहिलो कुरा त उनीहरुले जस्तो प्रभाव सृजना गर्न खोजेका छन् त्यो तथ्यगत रुपमा गलत छ’ इस्लामले भने । उनले मिडियामा देखाइएका कैयौं कुराहरु वास्तविकता भन्दा धेरै टाढा रहेको बताए ।
भारतको १ अर्ब ४० करोड जनसंख्यामा मुस्लिमको संख्या करिब १४ प्रतिशत छ । हिन्दुहरु भने करिब ८० प्रतिशत छन् । मोदीको पार्टी बीजेपी र यसको वैचारिक अभिभावक संगठन राष्ट्रिय स्वयंसेवक संघले हिन्दूहरुलाई क्रिस्चियन वा मुस्लिमबारे टिप्पणी गर्दा धार्मिक सन्तुलन बिग्रिन नदिनेतर्फ सचेत हुन भनेको छ । मोदीको बीजेपीमाथि उनी २०१४ मा सत्तामा आएदेखि हिन्दू कट्टरपन्थीद्वारा मुस्लिम र अरु अल्पसंख्यकमाथि दबन गरेको आरोप लाग्दै आएको छ तर यो आरोप बीजेपीले भने स्वीकार गर्दैन ।







डिसी नेपाल







Facebook Comment