भगौडा व्यापारी विजय माल्याले केस हारे, लण्डनको घर जफत गर्न बाटो खुल्यो

डिसी नेपाल
५ माघ २०७८ १०:०७
4.1k
Shares

काठमाडौं। भारतीय बैंकहरुको हजारौं करोड रुपैयाँ ऋण नतिरी देशबाट भागेका व्यापारी विजय माल्याले बेलायतको हाइकोर्टमा एउटा महत्वपूर्ण केस हारेका छन् । यससँगै अदालतले उनको लण्डनको घर बैंकले जफत गर्न सक्ने फैसला सुनाएको छ । स्विस बैंक युबिएससँग चलिरहेको यो विवादको सुनुवाइ मंगलबार भर्चुअल तरिकाले भएको थियो ।

फैसला सुनाउँदै न्यायाधीशले भने ‘बैंकसँग लिएको २.०४ करोड पाउण्ड ऋण तिर्नको लागि माल्या परिवारलाई अरु थप समय दिनुपर्ने कुनै ठोस कारण छैन । दोस्रो पक्षको दलील उचित छ । उनीहरुलाई समय दिएर कुनै लाभ हुने देखिँदैन ।’ न्यायाधीशले विजय माल्याको अपिल खारेज गर्दै भने ‘यो मामिलामा अपिलको इजाजत दिइँदैन र यसको अर्थ स्पष्ट छ कि यो मामिलामा स्टेको आदेश दिन सकिँदैन ।’

अदालतको आदेशपछि अब बैंकले यो सम्पत्ति जफत गरेर आफ्नो ऋणको भरपाइको कारवाही अगाडि बढाउन सक्छ । बैंकका वकिलका अनुसार बैंकले छिटै अदालतको आदेशको पालना गर्नेछ । विजय माल्याको यो सम्पत्तिलाई अदालतमा निकै मूल्यवान सम्पत्ति बताइएको छ । जसको मूल्य लाखौं पाउण्ड हुन सक्छ । माल्याको कम्पनी रोज क्यापिटल भेन्चर्सले यो घर धरौटी राखेर युबीएस बैंकबाट ऋण लिएको थियो ।

लण्डनको रिजेन्ट पार्कनजिकै रहेको १८–१९ कर्नवाल टेरेसको यो घरमा विजय माल्याकी ९५ वर्षकी आमा ललिता बस्ने गरेको विश्वास गरिएको छ । यसअघि २०१९ को मे महिनामा अदालतले माल्यालाई ऋण तिर्नको लागि ३० अप्रिल २०२० सम्मको समय दिएको थियो । त्यसपछि कोभिड–१९ महामारीका कारण आपतकालीन नियम लागू हुँदा बैंकले यो मामिलालाई कानुनी रुपमा अगाडि बढाउन सकेको थिएन ।

विजय माल्या मार्च २०१६ मा भारत छोडेर बेलायत गएका थिए । उनीमाथि आफ्नो एयरलाइन्स कम्पनी किंगफिशरको लागि बैंकसँग ऋण लिएको र त्यो ऋण नतिरी विदेश भागेको आरोप छ । ऋणको यो रकम करिब १० हजार करोड भएको बताइएको छ । किंगफिशर एयरलाइन्स घाटामा डुब्दै जाँदा बन्द भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *