तालिबानले अपहरण गरेर वर्षौं कैदमा राखेका तिमोथी फेरि अफगानिस्तानमै किन जान चाहन्छन् ?

डिसी नेपाल
५ माघ २०७८ १३:३१

काठमाडौं। साढे तीन वर्षसम्म तालिबानको कैदमा रहेका र धर्म परिवर्तन गरेर मुसलमान बनेका तिमोथी विक्स (जसको मुस्लिम नाम जिब्राइल उमर हो) एक पटक फेरि अफगानिस्तान जान चाहन्छन् । जिब्राइल उमरलाई तालिबानले अगष्ट २०१६ मा काबुलमा अमेरिकन युनिभर्सिटीको मुख्य द्वारबाट अपहरण गरेका थिए । साढे ३ वर्षसम्म तालिबानको कैदमा रहेपछि दोहा सम्झौता अन्तर्गत २०१९ मा हक्कानी सहित तीन प्रमुख तालिबान कमाण्डरको बदलामा उनको रिहाइ भएको थियो ।

उनी काबुलको अमेरिकन युनिभर्सिटीमा अंग्रेजीका शिक्षक थिए । उनलाई अफगान पुलिस अधिकारीहरुलाई अंग्रेजी सिकाउनको लागि एक पाठ्यक्रम तयार गर्ने काम दिइएको थियो । जिब्राइल उमर २०१६ को जुलाइमा अफगानिस्तान पुगेका थिए । उनले आफूले जिम्मेवारी पाएको पाठ्यक्रम तयार गर्ने काम सुरु पनि गर्न नपाउँदै अर्को महिना ९ अगष्टमा तालिबानले उनलाई उनका एक सहयोगी केभिन किंगको साथमा युनिभर्सिटीको मुख्य द्वारबाट बन्दुकको आडमा अपहरण गरे ।

यी दुईको खोजीको लागि अमेरिकी सेनाले अफगानिस्तानको विभिन्न भागमा कैयौं अपरेशन गरेको थियो । एक वा २ पटक यस्तो पनि भयो कि अमेरिकी सेनाका कमाण्डर ती स्थानमा पुगे जहाँ यी दुईलाई कैद गरेर राखिएको थियो । ती स्थानहरुमध्ये एउटा अफगानिस्तानको गजनी सहरको त्यो घरको परिसरमा समेत अमेरिकी सेना पुगेको थियो जहाँ तालिबानसँग अमेरिकी सेनाको उद्धार अभियानका क्रममा भयंकर झडप भयो ।

यद्यपि अमेरिकी सेना बन्धकहरुलाई बचाउन विफल रह्यो किनकि हरेक पटक अपरेशनभन्दा केही दिन पहिले वा अपरेशनको ठिक अगाडि बन्धकहरुलाई कुनै नयाँ स्थानमा स्थानान्तरित गरिन्थ्यो । अस्ट्रेलियाका पूर्व स्पिल बलर शेन वार्नको गृहनगर ‘वाग्गा वाग्गा’मा जन्मिएका जिब्राइल उमर (तिमोथी विक्स)लाई अफगानिस्तान जानुभन्दा पहिले त्यहाँको बारेमा त्यति मात्र थाहा थियो जति उनकी हजुरआमाले उनको घरको भित्तामा लगाइएको एक इरानी वा अफगानी कालिनको टुक्रामा छापिएका राजाका कहानी सुनेर उनलाई बताएकी थिइन् ।

जिब्राइल उमरका अनुसार यो कालिन उनको बाल्यकालका कथाहरुको पहिलो किताब थियो । वाग्गा वाग्गामा हुर्किएपछि उनले बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट ग्रयाजुएसन गरे र अंग्रेजीको शिक्षकको रुपमा काम गर्न सुरु गरे । बीबीसीलाई दिएको एक लिखित अन्तरवार्तामा जिब्राइल उमर (तिमोथी विक्स)ले साढे ३ वर्षको कैदभन्दा पहिले र रिहाइपछिको आफ्नो जीवनबारे बताउँदै तालिबानको कैदमा एक महिना बिताइसकेपछि आफ्नो जीवनमा परिवर्तन आउन लागेको बताएका छन् ।

उनले भनेका छन् ‘एक दिन, जहाँ म कैद थिएँ त्यो घरबाहिर मैले बच्चाहरु खेलेको र हाँसेको आवाज सुनें । एक शिक्षकको रुपमा मलाई ती बच्चाहरुको भविष्यको चिन्ता भयो कि यी बिचराहरुसँग राम्रो भविष्यको के सम्भावना छन् ? त्यही समय मैले निश्चय गरें कि यदि ज्यान बाँच्यो र स्वतन्त्र भएँ भने म फेरि अफगानिस्तान फर्केर आउनेछु र यी बच्चाहरुको लागि जे पनि गर्न सक्नेछु त्यो गर्नेछु ।’

उनले अगाडि भने ‘अब जब म स्वतन्त्र भएको छु त्यसपछि मेरो उद्देश्य छ कि म ती बच्चाहरु, विशेष गरी छोरीहरु र महिलाहरुलाई शिक्षित गर्न अफगानिस्तानमा तालिबान सरकारसँग मिलेर शिक्षाका लागि काम गरुँ । मैले आफूलाई छोरीहरु र महिलाहरुलाई शिक्षित गर्नको लागि समर्पित गरिदिएको छु । र, मलाई विश्वास छ कि म एक समाजसेवी संस्था स्थापना गरेर यो उद्देश्यका लागि अफगानिस्तानमा धेरै काम गर्न सक्छु ।’

उनी भन्छन् ‘म भाग्यशाली हुँ कि अपहरणको त्यो खराब समयमा पनि मैले असल कुराको एक किरण देखें । अब मसँग यस्तो गर्नुका अलावा कुनै विकल्प छैन किनकि म आफ्ना अफगान भाइबहिनीहरुको सहयोगको लागि शतप्रतिशत दृढ छु । मलाई अप तालिबानबाट अपहरित भएकोमा कुनै गुनासो छैन । किनकि यदि यस्तो नभएको भए मैले इस्लामको सत्यबारे थाहा पाउँदिनथें । अब मलाई अफगानिस्तान, यसको संस्कृति र त्यहाँका मानिसहरुसँग प्रेम छ जो मेरा आफ्ना हुन् र म उनीहरुको लागि काम गर्न चाहन्छु ।’

उनले अन्तरवार्तामा आफ्नो अपहरण, तालिबानको हिरासतमा बिताएका समय र तालिबानका प्रमुख नेता अनस हक्कानीको बदलामा आफ्नो रिहाइबारे विस्तारमा बताएका छन् । उनका अनुसार अपहरणको केही समयपछि तालिबानका एक कमाण्डरले उनलाई छिटै रिहा गरिने बताएका थिए । तर उनले पछि मात्र थाहा पाए अमेरिका जस्तै अस्ट्रेलियाको पनि अपहरण गरिएका आफ्ना नागरिकको रिहाइको लागि फिरौतीको रकम तिर्ने नीति थिएन । त्यसैले तालिबानको कैदमा उनी रहने अवधि बढ्दै, हप्ताबाट महिना हुँदै वर्षौंसम्म पुग्यो ।

तालिबानको कैदमा साढे ३ वर्ष उनको लागि निकै कठिन थियो । उनका अनुसार प्रायः उनलाई जञ्जीरले पूरै बाँधेर राखिन्थ्यो । अमेरिकी सेना पुगेको कुनै पनि सहरको नोक्सानीको बदला तालिकानले उनलाई प्रताडित गरेर लिन्थे । खासगरी जब तालिबानी लडाकू मारिएको खबर आउँथ्यो तालिबानीहरु उनलाई प्रताडित गर्थे । उनको साथमै अपहरण गरिएका केभिन किंगलाई वृद्ध र बिरामी भएका कारण केवल जञ्जीरको छेउले हात वा खुट्टामा बाँधिन्थ्यो ।

जिब्राइल उमर (तिमोथी विक्स) का अनुसार कैदमा रहँदा उनले भुइँ सफा गर्नुपर्थ्यो र चिसो पानीले तालिबानीको कपडा पनि धुनु पर्थ्यो । यदि ठिकसँग सफा नभए उनलाई कुटपिट गरिन्थ्यो । कैदका सुरुवाती २ वर्ष उनका लागि निकै कठिन रहे । तालिबानीले प्रताडनाको साथसाथै उनलाई केवल जीवित रहने गरी निकै थोरै खाना दिन्थे । साढे ३ वर्षको कैदको क्रममा उनलाई ३३ अलग अलग स्थानमा राखियो ।

२ वर्ष बितेपछि भने तालिबानको व्यवहारमा अचानक परिवर्तन आयो । तिमोथी भन्छन् ‘उनीहरुले हामीलाई राम्रो खाना दिन सुरु गरे । शायद तालिबानलाई हाम्रो बदलामा उनीहरुका साथी पाउने आशा बढ्न थालेको थियो ।’ जब उनी तालिबानको कैदमा थिए त्यही बेला अस्ट्रेलियामा उनकी आमाको निधन भयो । रिहाइपछि उनले आफ्नो पनि परीक्षण गराउँदा आफू पनि पाँचौं स्तरको क्यान्सरबाट ग्रसित भएको थाहा पाए । रिहाइपछि अहिलेसम्म ११ महिनामा उनका ११ अपरेशन र २ महिना रेडियोथेरापी भइसकेको छ ।

जिब्राइल उमर तालिबानका जुन कमाण्डरहरु अनस हक्कानी र खलील हक्कानीको बदलामा रिहा भए उनीहरुसँग भएको भेटबारे कुरा गर्दै भन्छन् ‘उनीहरुसँग मेरो भेट त्यतिबेला भयो जब मलाई रिहाइपछि दोहामा अमेरिका–तालिबान वार्तामा लगियो । म आफैं पनि कैदका क्रममा कुरानको तफ्सीर र केही अन्य इस्लामी किताबहरु पढेपछि तिमोथी विक्सबाट जिब्राइल उमर बनिसकेको थिएँ । रिहाइपछि मेरो र अनस हक्कानीको भेट दोहामा भयो जहाँ हामीले निकै रमाइलो समय बितायौं ।’

जिब्राइल उमरका अनुसार कैदमा रहँदा तालिबानको प्रताडना कम भएर परिस्थिति ठिक हुन थालेपछि उनको पढ्नेतर्फ रुची गयो । जब उनले तालिबानसँग केही किताब मागे त्यसपछि उनीहरुले उर्दू बाजार कराचीबाट प्रकाशित केही किताब र अंग्रेजीमा कुरानको तफ्सीर (व्याख्या) ल्याएर दिए । उनले भने ‘यी किताबहरु र कुरान पढेपछि म विस्तारै इस्लामतर्फ आकर्षित हुन थालें । अन्ततः ५ मे २०१८ मा मैले इस्लाम धर्म कबूल गरें र वुजू र नमाजको अभ्यास गर्न थालें । तर जब तालिबानले मैले इस्लाम अपनाएको थाहा पाए उनीहरुले खुसी हुनुको सट्टा मलाई मारिदिने धम्की दिन थाले ।’

जिब्राइल उमर अफगानिस्तानमा तालिबानको कैदमा रहँदा इस्लाम अपनाउने दोस्रो व्यक्ति हुन् । उनीभन्दा पहिले बेलायती महिला पत्रकार युवान रिडलेले पनि यस्तो गरिसकेकी छिन् । उनले इस्लामको प्रचारकको रुपमा काम गरिरहेकी छिन् । युवान रिडलेलाई तालिबानले २००१ मा अपहरण गरेका थिए । जिब्राइल उमर भन्छन् ‘म प्राय महसुस गर्छु कि आतंकवाद विरुद्धको युद्धलाई इस्लाम विरुद्धको युद्धको रुपमा पेश गरिन्छ ।’

उनी भन्छन् ‘म यस्तो अफगानिस्तानको सन्दर्भमा होइन बरु एक नव मुस्लिमको रुपमा बुझ्छु । म आफ्नो देश अस्ट्रेलियामा मलाई पुर्याइएको यातनाको आधारमा यस्तो बुझ्छु, जहाँ गल्लीहरुमा मलाई थुकिएको थियो, मलाई कुकुर भनियो, यहाँसम्म कि एक पूर्व अस्ट्रेलियाली सैनिकले नमाजको लागि लगाइने पख्तुन टोपी लगाएका कारण ममाथि आक्रमण समेत गरे । र, यो सबै यस्तो देशमा भइरहेको छ जहाँ कसैमाथि भेदभाव गर्नु गैरकानुनी हो ।’

उनका अनुसार दुर्भाग्यवश पश्चिमी दुनियाँ इस्लामोफोबियाबाट ग्रस्त छ । उनी साढे ३ वर्षपछि रिहा भएर घर जाँदा उनको परिवारका सदस्यहरुलाई थाहा भयो कि उनी त आफ्नो ‘दुश्मन’ अर्थात अफगानिस्तानमा तालिबानको सरकारको समर्थन गर्छन् । उनीहरुलाई यो कुरा स्वीकार गर्न निकै कठिन भएको थियो । ‘धेरै मानिसहरु मलाई स्टकहोम सिन्डेमबाट ग्रसित भन्थे’ उनले भने । स्टकहोम सिन्ड्रोम यस्तो रोग हो जसमा पीडितले अपहरणकर्ताबाट मुक्त हुने आशा गुमाउँछ त्यसपछि उसको शारीरिक र मानसिक यातनाबाट बचाउने प्रतिरक्षा प्रणाली अपहरणकर्ताको समर्थक बन्न थाल्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *