न्यूजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द
काठमाडौं। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आइतबार आफ्नो बिहेको कार्यक्रम रद्द गरेको घोषणा गरेकी छिन् । उनले देशमा ओमिक्रोनको बढ्दो केसहरु रोक्नका लागि लगाइएका प्रतिबन्धका कारण आफ्नो बिहेको कार्यक्रम रद्द गरिएको बताएकी हुन् । न्यूजिल्याण्डमा आइतबार रातीदेखि मासक अनिवार्य गरिएको छ । यसका अलावा भिडभाग गर्न रोक लगाइएको छ । कुनै कार्यक्रममा सीमित संख्यामा मात्र मानिस उपस्थित हुन पाउँछन् ।
न्यूजिल्याण्डमा केही दिनअघि भएको एउटा बिहे कार्यक्रमपछि ओमिक्रोनका ९ केस भेटिएका थिए । त्यसयता यहाँ सामुदायिक रुपमा संक्रमण फैलिने खतरा बढेको छ । यहाँको एक परिवार अकल्याण्डमा एक बिहेमा सहभागी भएर विमानबाट साउथ आइल्याण्ड फर्किएका थिए । त्यसपछि परिवारका सदस्य र फ्लाइट अटेन्डेन्ट संक्रमित पाइएका थिए । यससँगै न्यूजिल्याण्डमा प्रतिबन्धको घोषणा गरिएको थियो ।
नयाँ प्रतिबन्ध अनुसार बार, रेष्टुरेन्ट र बिहेको कार्यक्रममा १०० जना मात्र उपस्थित हुन पाइन्छ । यदि कार्यक्रम स्थलमा खोप पास छैन भने २५ जना मात्र जम्मा हुन पाइन्छ । यसका अलावा न्यूजिल्याण्डमा विदेशीहरुको लागि मार्च २०२० देखि नै सीमा बन्द छ । सरकारले ओमिक्रोनका केसका कारण सीमा खोल्ने समय पछि सारेको छ । न्यूजिल्याण्डमा १२ वर्षमाथिका ९४ प्रतिशत जनतालाई खोप दिइसकिएको छ । ५६ प्रतिशत नागरिकलाई बुस्टर डोज पनि दिइएको छ ।
जेसिन्डा अर्डर्न २०१७ मा न्यूजिल्याण्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । गत वर्ष अक्टोबरमा उनले सत्तामा पुनरागमन गरेकी हुन् । उनले आफ्नो लेबर पार्टीलाई आधा शताब्दीयताकै सबैभन्दा ठूलो जीत दिलाएकी थिइन् । जेसिन्डाले आफ्ना लामो समयदेखिका मित्र क्लार्क गेफोर्डसँग बिहे गर्दैछिन् । ४० वर्षीया प्रधानमन्त्री जेसिन्डाले २०१९ मा ब्वायफ्रेण्ड तथा टिभी होस्ट गेफोर्डसँग इंगेजमेन्ट गरेकी थिइन् ।







डिसी नेपाल







Facebook Comment