परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

डिसी नेपाल
११ माघ २०७८ १९:१८
964
Shares

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो ।

कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ ।

उनीहरूले सामूहिकरूपमा मिलेमतो गरी इ-स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो ।

विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको रकम भित्रिएको पाइएको छ ।

केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *