चीनमा हुने ओलम्पिककी पोस्टर गर्लको विवाद के हो ? किन अमेरिका छोडेर चीनकी बनिन् ?

डिसी नेपाल
१२ माघ २०७८ १३:०७

काठमाडौं। बेइजिङमा आगामी फेब्रुअरी ४ देखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक हुँदैछ । यस पटक आयोजक देश चीनलाई १८ वर्षकी फ्रि स्टाइल स्की च्याम्पियन एलिन गुबाट धेरै आशा छ । गु यो विन्टर ओलम्पिककी पोस्टर गर्ल हुन् र यो ओलम्पिकका सबैभन्दा प्रतिभाशाली किशोर उमेरका खेलाडीमध्ये एक हुन् । चीनमा गुको उपस्थिति पहिलेदेखि नै निकै ठूलो छ । देशमा कुनै पनि विज्ञापन वा प्रायोजक सम्झौताबाट गुलाई तत्काल चिन्न सकिन्छ ।

शीतकालीन ओलम्पिक केवल यी १८ वर्षकी फ्रि स्टाइल स्कीयरको छत्रछायामा हुँदैछ । यो ओलम्पिक वास्तवमा गुको लागि आफ्नो शारीरिक उपस्थितिका साथै देशको शोभा बढाउने एक दुर्लभ अवसर हो । डेलीमेलका अनुसार गुको कहानीको सम्भवतः सबैभन्दा रोचक पक्ष यषे हो कि उनी अमेरिकाको सान फ्रान्सिस्कोमा हुर्किएकी हुन् । ताहो तालमा स्की सिकेर अमेरिकी संस्कृतिमा डुबेकी गुले अन्ततः चीनको प्रतिनिधित्व गर्न थालिन् । यो उनको लागि निकै शानदार पनि भयो ।

गु अमेरिकामा जन्मिएकी अमेरिकी नागरिकता प्राप्त गर्न योग्य व्यक्ति हुन् । तर, उनले चीन रोजिन् किनकि उनकी आमा चीनकी हुन् । गुका पिता अमेरिकी र आमा चिनियाँ हुन् । उनले १५ वर्षको उमेरमा चीनको प्रतिनिधित्व गर्नको लागि आफ्नो अमेरिकी टिम छोड्ने निर्णय गरेकी थिइन् । गुले स्लोपिङमा कैयौं रेकर्ड तोड्नुका साथै कैयौं अन्तर्राष्ट्रिय मोडलिङ अभियानमा अभिनय पनि गरेकी छिन् ।

सामाजिक संजालमा उनका ठूलो संख्यामा फलोअर छन् । उनी चीनमा भोग पत्रिकाको कभरमा पनि देखिइसकेकी छिन् । आधिकारिक रुपमा इन्टरनेशनल स्की फेडरेशनसँग लोयल्टी बदल्ने (अर्को देशको प्रतिनिधित्व गर्ने) अनुरोध गरेको एक वर्षभन्दा पनि कम समयमा उनले २०२० को इभेन्टमा बिग एयर र हाफपाइप इभेन्टमा दुई स्वर्ण पदक जितिन् । साथमा उनले स्लोप स्टाइलमा रजत पदक पनि जितिन् ।

उनको पछिल्लो उपलब्धी पनि निकै शानदार रह्यो । उनले विन्टर एक्स गेम्समा २ स्वर्ण र एक कास्य पदक जितिन् । यो प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गरेकी हुले तीन इभेन्टमा भाग लिएर पदक जितिन् । यो शानदार फर्मको साथमा गुले कैयौं रेकर्ड पनि बनाइन् । एक्स गेम्स जितेपछि उनले आफ्नो सफलताबारे माइक्रोब्लगिङ साइट सिना वीबोमा पोस्ट गरेकी थिइन् । यो पोस्ट २३ मिलियन भन्दा धेरै पटक हेरिएको छ ।

उनका अधिकांश फलोअर उनको रोमाञ्चक सफरको तारिफ गर्छन् । तर, उनलाई लिएर निकै विवाद र आलोचना पनि हुने गरेको छ । आधिकारिक रुपमा उनले अमेरिकाको नागरिकता त्यागिसकेकी छिन् तर उनले चीनको प्रतिनिधित्व गर्न सुरु गर्दा २०१९ मै आधिकारिक रुपमा अमेरिकाको नागरिकता त्याग्नुपर्ने तर्क गरिन्छ । तर, त्यतिबेला उनी केवल १५ वर्षकी थिइन् त्यसैले उनले यसो गर्न अमेरिकी कानुनअनुसार मिल्दैनथ्यो । ‘म एक अमेरिकी हुँ भन्ने कुरा कसैले अस्वीकार गर्न सक्दैन र म एक चिनियाँ हुँ यो कुरा पनि कसैले अस्वीकार गर्न सक्दैन’ उनले २०२१ मा एक अन्तरवार्तामा भनेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *