बलात्कारीलाई होइन पीडित महिलालाई जुत्ताको माला लगाएर बजार घुमाइयो (भिडियोसहित)

डिसी नेपाल
१३ माघ २०७८ १४:५३

काठमाडौं। बलात्कारीलाई समाजले मिलेर चारपाटा मुडेर, कालोमोसो दलेर, जुत्ताको माला लगाएर बजार घुमाएका घटनाहरु हामीले देखेका छौं । यसलाई कानुनी नभइ सामाजिक न्यायको रुपमा विश्लेषण गर्ने पनि गरिएको छ र यस्तो सामाजिक न्यायलाई धेरैले स्वीकार पनि गर्ने गरेका छन् । तर, बलात्कार पीडित महिलालाई नै यसैगरी बेइज्जत गरेर बजार घुमाइयो भने के होला ?

सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ जुन भिडियोमा बलात्कारीलाई होइन पीडित महिलालाई यसैगरी अपमानित गरेर बजार घुमाइएको छ । यो क्रुर घटना भारतको राजधानी दिल्लीमा भएको हो । दिल्लीको विवेक विहारमा एक महिलाको कपाल काटियो, अनुहारमा कालोमोसो दलियो र जुत्ताको माला लगाएर बजार घुमाइयो । पीडित महिलाकी बहिनीको सूचनाका आधारमा पुलिस त्यहाँ पुगेर महिलाको उद्धार गरेको छ ।

यो मामिलामा सामूहिक बलात्कारको मुद्दा दर्ता गरेर ४ जना महिलाहरुलाई पक्राउ गरिएको छ । पुलिसका अनुसार यी महिलासँग त्यहाँका केही व्यक्तिहरुको पुरानो रिस थियो । यही कारण यो घृणित काम गरियो । पीडित महिला विवाहित हुन् र उनको एउटा बच्चा पनि छ । महिलाकी बहिनीका अनुसार महिलाको छिमेकमा बस्ने एक युवक उनीसँग कुरा गर्न आइरहन्थे । यी युवकले १२ नोभेम्बरमा आत्महत्या गरे । युवकका परिवारलाई आत्महत्याको कारण यी महिला हुन् भन्ने लाग्थ्यो ।

यी महिलालाई अवैध रक्सी बेच्नेहरुले सामूहिक बलात्कार गरेको र अपमानित गरेको भन्दै दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले दिल्ली पुलिसलाई अपराधीहरुलाई पक्राउ गर्न र पीडितको रक्षा गर्न नोटिस पठाएको बताएकी छिन् । स्वातीले ट्वीटरमा लेखेकी छिन् ‘कस्तुरबा नगरमा २० वर्षकी युवतीलाई अवैध रक्सी बेच्नेहरुले सामूहिक बलात्कार गरे । उनलाई कपाल खौरिएर, चप्पलको माला लगाएर पूरै क्षेत्रमा मुख कालो गरेर घुमाए । म दिल्ली पुलिसलाई नोटिस जारी गर्दैछु । सबै अपराधी पुरुष महिलाहरुलाई पक्राउ गरियोस् र युवती र उनको परिवारको सुरक्षा गरियोस् ।’

यो घटनाका विषयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै यसलाई धेरै लज्जाजनक भनेका छन् । उनले लेखेका छन् ‘यो अत्यन्तै जल्लाजनक हो । अपराधीहरुको यति हिम्मत कसरी भयो ? केन्द्रीय गृहमन्त्री जी र उपराज्यपाल जीसँग म आग्रह गर्छु पुलिसलाई कडा एक्सन लिन निर्देशन दिनुहोस् । कानुन व्यवस्थामा ध्यान दिनुहोस् । दिल्लीवासी यस किसिमका जघन्य अपराध र अपराधीहरुलाई कुनै हालतमा सहन सक्दैनन् ।’

पुलिसले सबै सम्भावित कोणबाट घटनाको जाँच गरिरहेको छ । महला त्यहाँ भाडाको घरमा बस्थिन् । उनका काकाका अनुसार उनलाई चक्कु देखाएर उनकी भतिजीकहाँ लिएर गए । बुधबार करिब १२ बजे पीडित युवतीलाई कडकडडूमाबाट अपहरण गरेर ल्याए । सामूहिक बलात्कारपछि उनको सबै कपाल काटियो, अनुहारमा कालो पोतियो र जुत्ताको माला लगाएर गल्लीमा घुमाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *