एलन मस्कको स्पेसएक्स रकेट अनियन्त्रित भएर चन्द्रमामा ठोक्किँदै

डिसी नेपाल
१३ माघ २०७८ १५:२५

काठमाडौं। स्पेसएक्सको एउटा रकेट केही हप्तामा चन्द्रमामा ठोक्किँदैछ । ठोक्किने बेला त्यसको गति करिब ९ हजार २८८ किलोमिटर प्रतिघण्टा हुनेछ । यो अनुमान खगोल विज्ञानीहरुले गरेका हुन् । यो रकेट अन्तरिक्षमा जलवायुसम्बन्धी निगरानी गर्ने स्याटेलाइट लिएर गएको थियो । तर, त्यसपछि यो रकेट अन्तरिक्षमा विचित्रका कक्षमा चक्कर लगाउँदै अन्द्रमातर्फ गइरहेको छ ।

२०१५ को फेब्रुअरीमा एलन मस्कको कम्पनी स्पेसएक्सले फल्कन ९ रकेटमार्फत पर्यावरणको निगरानी गर्ने स्याटेलाइटलाई अन्तरिक्षमा १५ लाख किलोमिटर टाढा पुर्याएको थियो । त्यसपछि रकेटको इन्धन सकियो । त्यतिबेलादेखि यो ४ हजार ४ सय किलोको रकेट बुस्टर अन्तरिक्षमा घुमिरहेको थियो । अब यो रकेट ४ मार्चमा ९ हजार २८८ किलोमिटरको गतिमा चन्द्रमामा गएर ठोक्किने अनुमान गरिएको छ । नियर अर्थ अब्जेक्ट ट्रयाक गर्ने बिल ग्रेले यो दावी गरेका हुन् ।

स्पेसएक्सको यो पहिलो डीप स्पेस मिसन थियो । यसको रकेट बुस्टरले अहिले काम गर्दैन । स्पेसएक्सले पहिलो पटक डीप स्पेस क्लाइमेट अब्जर्भेटरी पठाएको थियो । यो एक खास किसिमको स्याटेलाइट हो जो सौर्य तुफान र पृथ्वीको वातावरणको निगरानी गर्छ । यसलाई सर्य र पृथ्वीको बीचमा गुरुत्वाकर्षण मुक्त लेरेन्ज प्वाइन्टमा तैनाथ गरिएको छ । आफ्नो काम पूरा गरेपछि रकेटको दोस्रो स्टेजको इन्धन सकियो र यो पृथ्वीको चारैतिर घुम्न थाल्यो । पछि अचानक यो चन्द्रमाको कक्षमा अप्रत्याशित रुपमा गयो ।

बिल ग्रेको गणना अनुसार एउटा लामो सिलिण्डर रकेट चन्द्रमाको भूमध्य रेखाको आसपास खस्नेछ । अहिलेसम्म यो रकेटको ट्रयाजेक्टरी अर्थात दिशा र मार्ग तय छैन । यसको पछाडि सौर्य विकिरण र दबाबले पनि काम गर्छन् । यीमध्ये कुनै पनि फ्याक्टर बढी वा कम भयो भने यो कहीँ पनि खस्न सक्छ वा सुदूर अन्तरिक्षमा गायब हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *